
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूमा म्याजिक नम्बर छ भन्ने भ्रम पर्न थालेपछि एमालेले त्यसबाट मुक्ति दिलाएको दाबी गरेका छन्।
ललितपुरमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले कांग्रेससँग सहकार्य थालेपछि देशमा अस्थिरता र अराजकता नियन्त्रणमा आएको बताए।
‘हामीलाई ब्याक बेञ्चरझैँ पछाडि बस्नुपर्ने अवस्था थियो। नेपाली राजनीतिमा सहयोगीभन्दा माथि होइन भन्ने परिस्थितिमा कांग्रेस वा एमालेमध्ये कुनै एकलाई मात्र समर्थन दिन सकिन्छ भन्ने स्थिति थियो,’ ओलीले भने, ‘१४ महिना अघिसम्म प्रचण्डलाई आफूमा जादुमयी शक्ति छ भन्ने, आफ्नो संख्या नै म्याजिक नम्बर हो भन्ने भ्रम परेको थियो। त्यो अवस्था एमालेले चिरेको छ।’
उनले पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने गन्तव्यलाई आधार बनाएर अघि बढिरहेको र देशलाई समृद्ध बनाउनुभन्दा ठूलो लक्ष्य अरू केही नभएको पनि स्पष्ट पारे।





































