समाचार
लिपुलेकबारे चीनका राष्ट्रपतिसँग हामीले राखेको अडान अडिओ, भिडिओ र दुई देशको नोटमा छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ राष्ट्रपति सी जिङपिङसँगको भेटमा लिपुलेकबारे भारत र चीनबीच भएको सम्झौताको प्रस्ट रूपमा असहमति राखेको बताएका छन्।
पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै लिपुलेकबारे चीनका राष्ट्रपतिसँग राखेको अडान अडिओ, भिडिओ र दुई देशको नोटमा पनि रहेको बताए।
उनले भने, ‘चीनका राष्ट्रपतिसँगको औपचारिक वार्तामा मैले लिपुलेकसम्बन्धमा भारत र चीनको हाम्रो भूमिबाट दुइटा देशले व्यापार आदान प्रदान गर्ने सम्झौता गर्न मिल्दैन। हाम्रो असहमति छ भन्ने कुरा स्पष्ट ढङ्गले भने। यो कुरा अडिओ, भिडिओ र दुई देशको नोटमा रेकर्ड छ।’
आफूले असहमति राखेपछि सी जिनपिङले नेपालको सार्वभौमसत्तामा तलमाथि पर्न नदिने जवाफ दिएको बताए।
उनले थपे, ‘तपाईंहरुलाई परेको आशंकामा हाम्रो ध्यान छ। नेपालको सार्वभौमसत्तामा तलमाथि पर्ने छैन, दिइनेछैन। हामी समर्थन गर्छौँ। सिमानाको विषय नेपाल र भारतको हो। तपाईँहरूले कूटनीतिक रूपमा समाधान गर्नुस् भन्नुभयो।’
उनले सीमाबारे भारतसँग कुरा गरेर समस्याको समाधान गर्ने बताए।





































