
जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि रु सात अर्ब लाग्ने भएको छ ।
तिला गाउँपालिका–१ र ७ कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१, २, ३, ४ र ९ को प्रभावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक वातारणीय परीक्षण प्रतिवेदनउपर सार्वजनिक सुनुवाइमा आयोजनाका परामर्शदाता तथा वातावरणविद् सुरेन्द्रदेव भट्टले उक्त जानकारी दिए । तिलामा जलविद्युत् आयोजना निर्माण गर्न सम्भाव्यता अध्ययन चार वर्ष पहिला भइसकेको छ । तिला गाउँपालिका र तिलागुफा नगरपालिका भएर बग्ने तिला नदीमा निर्माण हुने प्रस्तावित आयोजनाको ‘डिजाइन डिस्चार्ज’ ५२ दशमलव ५१ घनमिटर प्रतिसेकेन्ड रहेको वातारणविद् सुरेन्द्रदेव भट्टको भनाइ छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागबाट उक्त योजनाको नापजाँच २०७८ सालमा स्वीकृत भएको हो ।
































