
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलको वर्तमान नेतृत्वविरुद्ध असन्तुष्ट समूह सडकमै उत्रिएको छ। अध्यक्ष विद्वान गुरुङको नेतृत्व असफल भएको भन्दै शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालय अगाडि नाराबाजी र प्रदर्शन गरिएको हो।
विरोधमा उत्रिएका नेता–कार्यकर्ताहरूले गुरुङ नेतृत्वको केन्द्रीय समिति तत्काल भंग गरी नयाँ नेतृत्व गठन गर्न माग गरेका छन्। मोटरसाइकल र्यालीसहित सानेपा पुगेका प्रदर्शनकारीहरू “महाधिवेशन गराउन नसक्ने नेतृत्व चाहिँदैन” भन्दै आक्रोशित देखिए।
प्रदर्शनको नेतृत्व सरोज न्यौपाने, रोजन राई, सतिन्द्र सिंह ठकुरीजस्ता तरुण दलका केन्द्रीय सदस्यहरूले गरेका थिए। उनीहरू सभापति शेरबहादुर देउवा निकटका नेताहरू हुन्, जसले गुरुङमाथि पटकपटक नेतृत्व विफलताको आरोप लगाउँदै आएका छन्।
गुरुङको कार्यकाल तदर्थ प्रकृतिको भए पनि महाधिवेशन गराउने जिम्मेवारी पूरा गर्न नसकेको भन्दै उनीहरू आक्रोशित छन्। कार्यकाल थपिए पनि उनले आवश्यक प्रक्रिया अगाडि नबढाएको असन्तुष्ट पक्षको आरोप छ।
प्रदर्शनलाई नियन्त्रणमा राख्न सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। प्रहरीको घेराबन्दीबीच प्रदर्शनकारीहरूलाई कार्यालय प्रवेश गर्न दिइएको थिएन।
ललितपुर प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, सम्भावित झडप र असहज परिस्थिति हुन नदिन प्रहरी तैनाथ गरिएको हो। उता, सभापति शेरबहादुर देउवा भने तदर्थ समितिहरूलाई अन्तिम पटक कार्यकाल थप गरेर महाधिवेशन गराउने पक्षमा छन्। २०७८ चैतमा मनोनित गरिएको गुरुङ नेतृत्वको वर्तमान समिति ४०१ सदस्यीय छ। तर, अहिलेको चपेटामा त्यो नेतृत्व कति समय टिक्ला भन्ने प्रश्न पार्टीभित्र चर्कँदै गएको छ।