जोडिनुहोस
  • होमपेज
  • भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क कार्यक्रम डिसेम्बरमा सुरु हुने

भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क कार्यक्रम डिसेम्बरमा सुरु हुने

काठमाडौं, कात्तिक २० – काठमाडौंस्थित भारतीय राजदूतावासले भारत–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क (IN-SPAN) कार्यक्रमअन्तर्गत पहिलो अभिमुखीकरण सत्र सन् २०२५ नोभेम्बर ४ मा सम्पन्न गरेको छ।

भारत र नेपालबीच स्टार्टअप इकोसिस्टममा सहकार्य र नवप्रवर्तन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिने IN-SPAN कार्यक्रम सन् २०२५ डिसेम्बरमा आईआईटी मद्रास (भारत) मा सुरु हुने तय गरिएको छ। यस कार्यक्रमअन्तर्गत नेपालका स्टार्टअप प्रतिनिधिहरूका लागि ८ हप्ते पूर्ण छात्रवृत्तिय प्रशिक्षण तथा नवप्रवर्तन कार्यक्रम सञ्चालन गरिनेछ। कार्यक्रममा सहभागीहरूलाई तालिम, परामर्श र इन्टर्नशिपको अवसर प्रदान गरिने भारतीय राजदूतावासले जनाएको छ।

आईआईटी मद्रास प्रवर्तक, जो भारतको एक अग्रणी इन्क्यूबेटर हो, हालसम्म ४६ वटा स्टार्टअपहरूलाई इन्क्यूबेट गरिसकेको छ, जसमध्ये १४ वटाले आफ्ना प्रविधि सफलतापूर्वक व्यावसायिक रूपान्तरण गरिसकेका छन्।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले भारत–नेपाल सहकार्यलाई प्रविधि र नवप्रवर्तनको साझा यात्राको रूपमा व्याख्या गर्दै यस्तो पहलले दुबै देशका युवापुस्ता र उद्यमशीलतालाई बल पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

दूतावास परिसरमा सम्पन्न उक्त सत्रमा विभिन्न स्टार्टअप कम्पनीहरू, सरकारी निकायहरू, वाणिज्य संघहरू, रोबोटिक्स एसोसिएसन अफ नेपाल, एनएएस आईटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल, तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूसहित करिब १०० जना सहभागी थिए।

त्यसैगरी वीरगंज र धरान क्याम्पसका करिब ६० जना विद्यार्थीहरू भर्चुअल रूपमा कार्यक्रममा सहभागी भए। कार्यक्रमका वक्ता आईआईटी मद्रासका प्रोफेसर तथा सेन्टर फर ह्युमन सेन्ट्रिक एआई प्रमुख वैज्ञानिक प्रो. गौरव रैनाले अनलाइनमार्फत् आईआईटी मद्रासको नवप्रवर्तन इकोसिस्टमबारे जानकारी दिनुभयो।

यसअघि सोही दिन त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा पनि यस्तै सत्र आयोजना गरिएको थियो, जसमा करिब ७० जना विद्यार्थी सहभागी भएका थिए।

कार्यक्रमका लागि आवेदन सन् २०२५ नोभेम्बर १५ सम्म खुला रहनेछ। इच्छुक उद्यमीहरूले अनलाइनमार्फत https://shorturl.at/Au8zh मा आवेदन दिन सक्ने दूतावासले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका