जोडिनुहोस
  • होमपेज
  • रेशम चौधरीलाई पक्रन अनधिकृत पत्र लेख्ने महिमानविरुद्ध ४ दिन म्याद थप

रेशम चौधरीलाई पक्रन अनधिकृत पत्र लेख्ने महिमानविरुद्ध ४ दिन म्याद थप

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न डिल्लीबजार कारागारलाई पत्र लेखेका सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

बुधबार पक्राउ परेका विष्टलाई शुक्रबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको थियो । अदालतले उनीमाथि अनुसन्धानका लागि चार दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए ।

विष्टले सर्वोच्च अदालतको लेटरहेड दुरुपयोग गरी रेशमलाई पक्राउ गर्न डिल्लीबजार कारागारको नाममा पत्र लेखेर पठाएका थिए । लगत्तै प्रहरीले नियन्त्रणमा लिएर उनलाई कारागार बुझाएको थियो । सर्वोच्चले महिमान विष्टको पत्र अनधिकृत भएको भन्दै रेशमलाई रिहा गर्न अर्को पत्र पठाएको थियो । त्यसपछि करिब साढे चार घण्टाको कारागार बसाइपछि रेशम थुनामुक्त भएका थिए ।

महिमानविरुद्ध तीन वटा कसुरमा अनुसन्धान अघि बढाइएको छ । प्रहरी स्रोतका अनुसार उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा ८४, दफा ८६ र दफा २७६ को कसुरमा अनुसन्धान अघि बढाइएको हो ।

मुलुकी फौजदारी अपराध संहिताको दफा ८४ मा झुट्टा जानकारी दिन नहुने उल्लेख छ । कसैले कुनै राष्ट्रसेवकलाई निजले कानुन बमोजिम गर्नुपर्ने काम गर्नबाट रोक्न लगाउन वा गर्न नहुने काम गर्न लगाउने नियतले कसैलाई झुट्टा जानकारी दिन हुँदैन । यस्तो कसुर गरेमा एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना दुवै सजाय हुने व्यवस्था छ ।

दफा ८६ मा राष्ट्र सेवकलाई मद्दत दिन इन्कार गर्न नहुने उल्लेख छ । कुनै राष्ट्रसेवकले आफ्नो पदीय कर्तव्य पालन गर्दा यस्तो काममा मद्दत दिनपर्ने कानुनी कर्तव्य भएको व्यक्तिले त्यस बमोजिम मद्दत दिन इन्कार गर्न हुँदैन ।

यस्तो कसुर गर्नेलाई ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ ।

त्यसैगरी दफा २७६ मा कीर्ते गर्न नहुने छ । उनले कीर्ते गरेर दुरुपयोग गरी अनधिकृत पत्र लखेको आरोप छ । जसअनुसार अदालतको फैसला वा आदेश कीर्ते गर्नेलाई ८ वर्षसम्म कैद र ८० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

अहिले प्रहरी हिरासतमा रहेका विष्टले गत बुधबार चौधरीलाई पक्राउ गर्न भन्दै अनधिकृत पत्र लेखेर सो पत्र बुझाउन आफैं प्रहरी परिसर पुगेका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर डिल्लीबजार कारागार पुर्‍याएको थियो । पत्र अनधिकृत भएको खुलेपछि रेशम रिहा भएका थिए भने विष्ट पक्राउ परेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका