
डोल्पाको जगदुल्ला गाउँपालिका–५ स्थित गैरीगाउँमा शनिबार राति आएको हिलोसहितको बाढीले एक महिलाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार निरन्तर वर्षापछि धुलाखोला र आसपासका खहरेमा आएको बाढी आइतबार बिहान करिब ३ बजे बस्तीमा पस्दा स्थानीय ५६ वर्षीया आनन्दी विक गम्भीर घाइते भएकी थिइन्। उद्धारपछि उपचारका लागि स्वास्थ्य चौकी लगिएको भए पनि उनको ज्यान जोगाउन नसकिएको प्रहरीले जनाएको छ।
बाढीबाट सोही गाउँका चाउरी विक ९५००, रेउली विक ९४४०, विष्णु विक ९४८०, निरुता विक ९१५०, सीता विक ९१३० र जस विक ९६५० घाइते भएका छन्। उनीहरूको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रेफर गरिएको छ।
स्थानीयका अनुसार बाढीले केही व्यक्तिलाई करिब १५–१६ मिटरसम्म बगाएको थियो। घटनामा घाइते भएका अधिकांशको ढाड, टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ।
घटनालगत्तै प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पुगेको टोलीले स्थानीयवासीको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट थप पाँच प्रहरी, नेपाली सेनाका १० जना र सशस्त्र प्रहरी बलका ११ जना सुरक्षाकर्मी घटनास्थलमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिएकी छन्।
प्रहरीका अनुसार बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन, उद्धार तथा राहत वितरणको काम अझै जारी छ।






















