जोडिनुहोस
  • होमपेज
  • आज राष्ट्रिय पत्रकारिता दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

आज राष्ट्रिय पत्रकारिता दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ। आज विभिन्न कार्यक्रम आयोजना गरी ‘१०औँ राष्ट्रिय पत्रकारिता दिवस’ मनाइँदैछ। गोरखापत्र प्रकाशन भएको दिनको अवसर पारेर प्रत्येक वर्ष वैशाख २४ गते यो दिवस मनाउने गरिन्छ।

सरकारले २०७३ सालमा पत्रकारिता दिवसलाई राष्ट्रिय रूपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो। विसं १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन सुरु भएको थियो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरले दशौँ पत्रकारिता दिवसले पत्रकारिता जगतलाई प्रोत्साहित गर्ने र जिम्मेवार पत्रकारिताको विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। यसका साथै यसले नयाँ पुस्तालाई हौसला र प्रेरणा प्रदान गर्ने उनको भनाइ छ। उनले राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता क्षेत्रको विकास, प्रवर्द्धन र यसमा लागेकाहरूलाई हौसला प्रदान गर्न पत्रकारिता क्षेत्रमा योगदान गर्ने विशिष्ट व्यक्तिहरूलाई सम्मान गरेर राज्यले कदर गरेको उल्लेख गरे।

यस वर्ष ‘विश्वसनीय सूचनाको आधार : जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाइँदैछ। पत्रकारिता दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरिनेछन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा आज दिउँसो १ बजे राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना हुँदैछ। त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम छ।

मन्त्रालयका अनुसार सो समारोहमा नेपालको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने दुई जनालाई वरिष्ठ पत्रकार सम्मान प्रदान गरिनेछ। पुरस्कारको राशि रु दुई लाख र कदरपत्र रहेको छ।

यस्तै, रु एक लाख र कदरपत्रसहित छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिनेछ। पत्रकारिता दिवसका अवसरमा सरकारले निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताका माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्‍याएका पत्रकार र आमसञ्चारसम्बन्धी संस्थालाई सम्मान गरिने भएको हो।

पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवर्द्धन र जनतालाई सुसूचित गराउन योगदान पुर्‍याएका पत्रकारलाई प्रोत्साहन र सम्मान स्वरूप हरेक वर्ष प्रदान गरिने राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानबाट यस वर्ष सम्मानित व्यक्तिहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट पुरस्कार एवं सम्मान प्रदान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

गोरखापत्र संस्थानले ‘गोरखापत्र’ प्रकाशनको १२५औँ वर्ष प्रवेश तथा संस्थानको ६३औँ वार्षिकोत्सवका उपलक्ष्यमा राष्ट्रियसभा गृहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा कार्यक्रमको आयोजना गर्दैछ।

धेरै टिप्पणी गरिएका