
काठमाण्डु – २०६२ जेठ २३ अर्थात आजभन्दा ठिक २० वर्ष अघि चितवनको गोविन्दबस्ती बगई (माडी)बाट भरतपुरका लागि ना १ ख ३२४५ नम्बरको बस छुट्यो । बसमा ७२ जना थिए तर ठूलो विस्फोटमा ३८ जना तत्कालै ज्यान गुमाए ।
उक्त यात्रुबाहक बस तत्कालीन विद्रोही नेकपा (माओवादी)ले बाँदरमुढेमा थापेको विद्युतीय धरापमा परेर विस्फोट भएको थियो । बम विस्फोट हुँदा ३८ जनाको घटनास्थलमै मृत्यु भयो ।
प्रचण्डले बिर्सेको सहमति
हाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले गत २०७४ को निर्वाचनको समयमा बाँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो गल्ती भएको स्वीकार गरेका थिए । उनले त्यसबेला बाँदरमुढेका जनतासँग माफी पनि मागेका थिए ।
त्यति मात्र होइन, उनले आफ्नो पार्टीको सरकार बने बाँदरमुढे घटनाका पीडित परिवारलाई सम्मान हुनेगरी सम्बोधन गर्ने घोषणा पनि गरे ।
साथै आफ्ना पार्टी निकट मृतकका परिवार, घाइते तथा कार्यकर्ताको भेला डाकी २०७४ मंसिर १७ गते ३ बुँदे सहमति पनि गरे । यस्तो छ सहमति ।

त्यसयता दाहाल थुप्रै पटक प्रधानमन्त्री पनि भए । उनको पार्टी पटक पटक सरकारमा पनि गए । तर बाँदरमुढे घटनाका विषयमा आफूले गरेको सहमति बिर्से ।
त्यसयता उनी पटक–पटक चितवन पुगेका पनि छन् । तर, न बाँदरमुढेलाई सम्झिए, न त मृतकका परिवार तथा घाइतेलाइ नै ।
२०७४ माघ ११ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बाँदरमुढे घटनामा मृत्यु भएका सबैलाई सहिद घोषणा गर्यो । तर, सहिद मात्र नभई घटनाका दोषीलाई सजाय दिने र पीडित परिवारलाई न्याय दिने कुरा हरायो ।
अध्यक्ष दाहालले गरेको सहमतिमा सहभागी एक पीडित सुदीप निउरेले घटनामा ज्यान गुमाएकी आफ्नी दिदी डिला निउरे र भाञ्जा निश्चल सापकोटालाई सम्झिँदै माओवादीले धोका दिएको बताउँछन् ।

मृतक र घाइतेको सम्झनामा बनाइएको स्मारक
पीडा उस्तै
बाँदरमुढे घटनाका पीडितको पीडा अझै उस्तै छ । घटनाका घाइतेहरूले न घाउमा मलहम पाए, न न्याय ।
माडी अयोध्यापुरी–७ की सीता सुवेदी जति बिर्सन खोजेपनि त्यो दिनको घटनालाई बिर्सन सकेकी छैनन् । कामको सिलसिलामा उनी जब बाँदरमुढे खोला हुँदै हिँड्नुपर्छ, घटनामा घाइते भएकी सीताको मुटु थरर्र काँप्छ ।
बसमा सीता मात्र थिइनन् उनका श्रीमान् आत्मराम र छोरी अञ्जलीसहित उनी पनि परेकी थिइन् । श्रीमान् र छोरीको विस्फोटमा मृत्यु भयो । उनी घाइते भइन् । अहिले पनि उनले औषधि सेवन गर्नुपर्छ । टाउको र ढाडमा चोट छ । गाह्रो काम गर्न सक्दिनन् ।
त्यो दिन घटनास्थलनजिकै घर भएकी भुवनशान्ति पौडेलको श्रीमान् पनि बम विस्फोटमा परे । उनको ढाड र टाउको दुख्ने समस्या अझै पनि उस्तै छ ।
माडी बाँदुरमुढेका धेरै घाइतेहरूको अवस्था उस्तै छ । न मलहम पाएका छन्, न न्याय । बर्सेनि बाँदरमुढे घटनाले घाउ चहराइरहन्छ ।
घटनामा ६ जना बालबालिकाले पनि ज्यान गुमाए । घाइते भएका ७ बालबालिकाले कठोर पीडा अझै झेलिरहेका छन् । घाइतेमध्ये १२ जना शारीरिकरूपमा अपाङ्गता छन् । उनीहरू काम गरेर खान सक्दैनन् ।
माडी नगरपालिकाको मुख्य बजार वसन्तपुरबाट करिब पाँच किलोमिटर पर बाँदरमुढे पर्छ । खोला पनि छ । घटनास्थलमा स्मारक बनाइएको छ । घाइते र मृतकको नाम लेखिएको छ । सोही ठाउँबाट अहिले बसहरू चल्दैनन् । धार परिवर्तन गरिएको छ । स्मारक स्थलमा झाडीझाडी छ । सो ठाउँलाई पर्यटकीय केन्द्र बनाउने भनिएपछि काम केही अगाडि बढ्न सकेको छैन ।
घटनाको सम्झनामा शुक्रबार स्मारकमा घटनामा आफन्त गुमाएका र घाइते भएका माडीवासीले भेला भएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।