
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्वसांसद अशोक यादवले मधेशबारे दिएको विवादास्पद अभिव्यक्तिपछि तीव्र प्रतिक्रिया उत्पन्न भएको छ। पक्राउ पूर्जी जारी भएपछि फरार रहेका यादवले सार्वजनिक गरेको भिडियो सन्देशमा “मधेश कुनै न कुनै दिन नेपालबाट अलग हुन्छ” भन्ने अभिव्यक्ति दिएका छन्।
भिडियो सन्देशमा यादवले भनेका छन्, “म रहुँ वा नरहुँ, मधेश एक न एक दिन नेपालबाट अलग हुने नै छ।” उक्त सन्देशमा उनले भारतको बिहारसँग भावनात्मक सम्बन्ध जोड्दै “जय बिहार, जय नेपाल, जय भारत” भनाइबाट सुरु गरेका छन्।
भिडियोमा यादवले आफूलाई पक्राउ नगर्न भारतका प्रहरी अधिकारीहरूसँग अनुरोध गरेका छन्। उनले आफू नेपाल–भारतबीचको निष्ठाको लडाइँ लडिरहेको दाबी गर्दै भनेका छन्, “नेपालका एसपीले भनेको आधारमा बिहार प्रहरीले कुनै पनि कदम नउठाओस्।” नेता यादवले नेपालका शासक वर्गमा नस्लीय सोच रहेको आरोप लगाएका छन्। मधेशी समुदायलाई दोस्रो दर्जाको नागरिकजस्तो व्यवहार गरिएको भन्दै उनले मधेश अलग हुनु आवश्यक रहेको टिप्पणी गरेका छन्।
सर्लाहीका तत्कालीन प्रहरी प्रमुख (एसपी) योगेन्द्र कुमार खड्कालाई टेलिफोनमा धम्की दिएको आरोप लागेपछि यादवमाथि पक्राउ पूर्जी जारी गरिएको थियो। उक्त घटनापछि उनी फरार छन्। भिडियो सन्देशमा उनले सर्लाहीका एसपी र डीएसपीमाथि “गुण्डागर्दी” गरेको आरोप पनि लगाएका छन् र आफूलाई मर्न डर नभएको अभिव्यक्तिसमेत दिएका छन्।
राजनीतिक रुपमा चर्किएको मधेशबारे यस्तो उत्तेजक टिप्पणी सार्वजनिक हुनुले राष्ट्रिय एकता र सहिष्णुतामाथि प्रश्न उठाएको छ। यादवको भिडियो सन्देश सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिँदै गर्दा उनीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउने तयारी भएको स्रोतले जनाएको छ।





































