जोडिनुहोस
  • होमपेज
  • नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र

नेपाल वायुसेवा निगमका दुई विमान बिग्रिएपछि अन्तर्राष्ट्रिय उडान अवरुद्ध, सयौं यात्रु अलपत्र

काठमाडौं । नेपाल वायुसेवा निगमका दुईवटा न्यारोबडी विमानमा लगातार समस्या देखिएपछि दमाम, मुम्बई र क्वालालम्पुरका उडानहरु रद्द भएका छन्। उडान रद्द भएपछि सोमबारदेखि कम्तीमा ६ सय यात्रु दुवैतर्फ अलपत्र परेका छन्।

बैंककबाट फर्किएको निगमको ‘सगरमाथा’ नामक विमानमा सोमबार इलेक्ट्रीकल समस्या देखिएपछि विमान थन्काइएको थियो। बुधबारसम्म मर्मत गरी उडान योग्य बनाए पनि सोमबार राति दमाम जान तयार १४५ यात्रु विमान नउड्दा काठमाडौंमै रोकिएका थिए।

त्यसैगरी, हङकङबाट फर्किएको ‘लुम्बिनी’ नामक अर्को विमानमा बुधबार इन्जिनसम्बन्धी समस्या देखिएपछि मुम्बई गन्तव्यका ८७ जना यात्रु काठमाडौंमै रोकिए भने मुम्बईबाट फर्किनुपर्ने ९२ जना यात्रु उतै अलपत्र परेका छन्। निगमले अत्यावश्यक यात्रुका लागि ३५ जनालाई वैकल्पिक वायुसेवा तथा दिल्ली हुँदै गन्तव्यमा पठाएको जनाएको छ।

यसैबीच, मंगलबार क्वालालम्पुर गन्तव्यका यात्रु पनि प्रभावित भएका छन्। निगमको उडान कटौती हुँदा काठमाडौंबाट जानुपर्ने १२६ र उताबाट फर्किनुपर्ने १३५ यात्रु रोकिएका हुन्।

विमानमा लगातार समस्या देखिएसँगै निगमले उडान सुरक्षालाई प्राथमिकता दिँदै प्रभावित यात्रुलाई वैकल्पिक व्यवस्थाका लागि पहल भइरहेको जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका