जोडिनुहोस
  • होमपेज
  • पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै भोजपुरको चखेवा भञ्ज्याङ

पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै भोजपुरको चखेवा भञ्ज्याङ

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ मा अवस्थित चखेवा भञ्ज्याङ पर्यटकका लागि सहज गन्तव्य बन्दै गएको छ। प्राकृतिक सुन्दरता र पहुँचयुक्त सडकसहितको पूर्वाधार विकासपछि यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको हो।

भोजपुर सदरमुकामबाट करिब ४० किलोमिटर टाढा रहेको चखेवा भञ्ज्याङ कालोपत्रे सडकसँग जोडिएको छ। समुद्री सतहबाट २,३५१ मिटरको उचाइमा रहेको यो स्थानमा पुगेर पर्यटकले स्थानीय परिकारको स्वादसँगै प्राकृतिक दृश्यावलोकनको आनन्द लिइरहेका छन्।

गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार चखेवा भञ्ज्याङलाई पर्यटनसँगै संस्कार, संस्कृति र सभ्यताको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसाथ योजनाबद्ध पूर्वाधार निर्माण भइरहेको छ। “पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हामी चखेवा क्षेत्रमा विशेष जोड दिइरहेका छौं,” उनले बताए।

भोजपुर र खोटाङको सिमानामा पर्ने चखेवा क्षेत्रमा बृहत् सांस्कृतिक सङ्ग्रहालय, पार्क र संस्कृति अध्ययन केन्द्र निर्माण गर्ने तयारी पनि थालिएको छ। करिब तीन करोड रुपैयाँ लागतको परियोजनाका लागि केन्द्र सरकारसँगको समन्वयमा जग्गा खोजी भइरहेको छ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार चखेवा मुन्दुम पदमार्गको केन्द्र विन्दु भएकाले यसको प्रवर्द्धनका लागि मेला महोत्सव आयोजना हुँदै आएका छन्। उनले स्थानीयलाई कृषि र पर्यटनमा आधारित आयआर्जनमा जोड दिन गाउंपालिकाले योजना अघि सारेको जानकारी दिइन्।

गाउँपालिकाले ‘कृषि, पर्यटन र सांस्कृतिक पूर्वाधारः टेम्केमैयुङ विकासको आधार’ भन्ने नारासहित चखेवा क्षेत्रमा समन्वित विकास योजनाहरू कार्यान्वयन गर्दै आएको जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका