
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट थप रकम खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले आज २५ अर्ब रुपैयाँ तान्ने भएको हो ।
राष्ट्र बैंकले आजै अर्थात् भदौ २२ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम २१ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो ।
बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निस्शेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी असोज १२ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।





































