जोडिनुहोस
  • होमपेज
  • महाधिवेशन विवादबारे कोइरालाले गरे जिल्ला सभापतिहरूसँग छलफल, निर्वाचनअघि नै सम्पन्न गर्नुपर्ने जोड

महाधिवेशन विवादबारे कोइरालाले गरे जिल्ला सभापतिहरूसँग छलफल, निर्वाचनअघि नै सम्पन्न गर्नुपर्ने जोड

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँग छलफल गरेका छन् ।

राजधानीमा उपलब्ध आफ्नो समूहका जिल्ला सभापति तथा पूर्वजिल्ला सभापतिहरूसँग कोइरालाले पार्टीभित्र देखिएको आन्तरिक विवाद तथा महाधिवेशनको मितिबारे छलफल गरेका हुन् ।

कोइरालाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेस भएका पार्टीको १५ औँ महाधिवेशनबारे दुई कार्यतालिका र त्यसको मिलनबिन्दु के हुनसक्छ भन्नेबारे छलफल गरेका हुन् ।

मंगलबारको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले आगामी पुस १६ देखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले आगामी वैशाख २७ देखि ३० गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए । ती कार्यतालिकाबारे केन्द्रीय समितिमा बहस भइरहेका बेला नेता कोइरालाले कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेका हुन् ।

भेलाका सहभागीहरूले आगामी निर्वाचनलाई ख्याल राखेर सहमतिमा नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न सुझाएका थिए ।

छलफलमा कोइरालाले १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

अहिलेको समयको चाप, अवस्था आदिका कारण यदि मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा आगामी पुस मसान्तसम्म महाधिवेशन गरिसक्नुपर्ने कोइरााले बताए ।

‘आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्छ’, कोइरालाले भने, ‘२०८२ पुस मसान्तसम्मको तालिका बनाँउदा निर्वाचन आयोगको निर्वाचनले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउनुपर्छ ।’

उनले नेपाली कांग्रेस अहिले एकतावद्ध, गम्भीर, जिम्मेवार, संयम भएर अघि बढ्नुपर्छ बताउँदै पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

छलफलमा केन्द्रीय सदस्यहरू प्रा.डा. गोविन्दराज पोख्रेल र टेकप्रसाद गुरुङ पनि उपस्थित थिए । त्यस्तै मोरङ सभापति डिगबहादुर लिम्बू, रुपन्देही सभापति रामकृष्ण खाँण, नुवाकोट सभापति रमेश महत, खोटाङ सभापति विष्णु राई, चितवन सभापति राजेश्वर खनाल, सिन्धुलीको उज्ज्वल बरालसहित उपस्थित थिए ।

भेलामा गुल्मीका पूर्वसभापति त्रैलोक्यप्रसाद सेन, कास्कीका पूर्वसभापति यज्ञबहादुर थापासहितका नेताहरू पुगेका थिए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका