काठमाडौं। आज काठमाडौं उपत्यकामा विभिन्न समूहले सडक प्रदर्शन गर्ने भएका छन्। नेपाल शिक्षक महासंघ विद्यालय शिक्षा ऐनको माग गर्दै माइतीघर-बानेश्वर क्षेत्रमा धर्नामा बस्ने भएको छ। उनीहरु गत बुधबारदेखि यही माग राखेर आन्दोलित छन्।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न स्थानबाट र्याली निकालेर बल्खुमा विरोध प्रदर्शन गर्ने भएको छ। राप्रपाले यस कार्यक्रमका लागि प्रशासनबाट अनुमति लिइसकेको छ।
उता, सहकारी र लघुवित्त पीडितहरुले शान्तिबाटिकामा भेला भएर आफ्ना मागहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
एकैदिन तीनवटा फरक-फरक समूहको प्रदर्शनका कारण काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने सम्भावना छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आवश्यकता अनुसार सवारी साधनलाई डाइभर्सन गर्ने व्यवस्था मिलाएको जनाएको छ। प्रहरीले प्रदर्शन हुने क्षेत्रका सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
डाइभर्सन गरिने मुख्य स्थानहरु :-
– खसीबजार – मकालु – कलंकी चोक– बाफल
– बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु
– किर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाईन्टहरु
– त्रिपुरेश्वर,बालाजु, हलचोक, नैकाप, सीतापाईला,
–चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।
प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरूबारे जानकारी गराउँदै बल्खुमा आन्दोलनरत पक्षलाई पार्किङको समेत जानकारी गराएको छ ।
पार्किङ्ग गर्ने स्थानहरु :
त्रिवि गेटदेखि चोभार सडक
सानेपा करिडोर सडक (दुबै तर्फ)
चोभार सुख्खा बन्दरगाह
नयाँबसपार्क
सीतापाईला – बाफल सडक खण्डमा एक लाइन






































