
काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको जनप्रदर्शनमा कडा सुरक्षा प्रबन्ध मिलाएको छ । सभामा हुने हरेक किसिमका सुरक्षाका लागि हजारौँ संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा पुगिसकेका छन् । राप्रपा कार्यकर्ताहरू स्टेजको निर्माण र व्यवस्थापनमा जुटिरहेका छन् । स्रोतका अनुसार सो आमसभालाई सम्बोधन गर्न पार्टीका नेताहरूहरु भने उपस्थित भएका छन् । राजावादी आन्दोलनको रिपोर्टिङमा भारतीय संचारमाध्यम समेत आएका छन् ।
राप्रपाले गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । यस्तै, दुर्गा प्रसाईँको अभियानबाट पनि साथ र समर्थन हुने भनिएपछि सुरक्षा निकाय चनाखो बनेको बुझिएको छ । बल्खु चोकमा हुने आमसभामालाई अध्यक्ष राजेन्द्र लिङदेन लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बागमती प्रदेशस्तरीय बृहत् प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठका लागि राप्रपाले आफ्नो संयन्त्र र स्वयंसेवक परिचालन गर्ने जनाएको छ । राजसंस्था पुनर्स्थापना र हिन्दूराज्यका पक्षमा राप्रपाले प्रदर्शन गर्दै आएको छ । यसअघि दुर्गा प्रसाईंले नेतृत्व गरेको तीनकुनेको राजवादी समर्थकको प्रदर्शन हिंसात्मक बनेपछि राप्रपाले आफ्नै नेतृत्वमा अभियान अगाडि बढाउने निर्णय गरेको हो ।
राप्रपाले दुर्गा प्रसाईँको नेतृत्वमा प्रदर्शन हिंशात्मक बनेपनि आफ्नो नेतृत्वमा प्रदर्शन हुँदा शान्तिपूर्ण आन्दोलन हुने राप्रपा अध्यक्ष लिङदेनले दाबी गर्दै आएका छन् । तर राप्रपाका केही नेताहरुले सरकारको विरोध गर्दै आन्दोलनले अर्के रुप लिन सक्ने समेत बताउँदै आएका छन् । यद्यपी सरकारले राजावादी आन्दोलबाट केही क्षेतिभए सोको विल आयोजक टिमले नै बुझाउनुपर्ने बताइसकेको छ।





































