जोडिनुहोस
  • होमपेज
  • काठेखोला गाउँपालिकाद्वारा हलगोरु पाल्ने १७८ किसानलाई पोषणभत्ता वितरण

काठेखोला गाउँपालिकाद्वारा हलगोरु पाल्ने १७८ किसानलाई पोषणभत्ता वितरण

गलकोट। बागलुङको काठेखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानहरूलाई पोषणभत्ता प्रदान गरेको छ। गाउँपालिकाको ‘गोरुलाई पोषण, कृषकलाई प्रोत्साहन’ नीति तथा कार्यक्रम अन्तर्गत १७८ जना हलगोरु पालक किसानलाई जनही पाँच हजार रुपैयाँका दरले पोषणभत्ता वितरण गरिएको हो।

परम्परागत रूपमा खेतबारी जोत्न प्रयोग गरिने गोरुको संरक्षण गर्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले कुल आठ लाख ९० हजार रुपैयाँ पोषणभत्ता सिधै किसानको हातमा पुर्‍याइएको गाउँपालिका अध्यक्ष राजु थापाले जानकारी दिए।

अध्यक्ष थापाले गाउँपालिकाभित्र हलगोरु पाल्ने किसानको तथ्याङ्क संकलन गरी १७८ जनालाई पोषणभत्ता वितरण गरिएको बताए। “हलगोरु पाल्ने र खेत जोत्ने परम्परा हराउँदै जान थालेपछि यसको संरक्षणका लागि हामीले यो कार्यक्रम अघि बढाएका थियौँ। हाल १७८ किसानले यसबाट लाभ उठाएका छन्। गाउँपालिकाले गोरु संरक्षण र मलमूत्रको उपयोगिता बढाउन पहिलो पटक यो कार्यक्रम ल्याएको हो,” उनले भने, “गाउँपालिकाले यो कार्यक्रमलाई निरन्तरता दिनेछ। यसका साथै दूध उत्पादन गर्ने किसानले प्रतिलिटर साढे दुई रुपैयाँका दरले अनुदान पाएका छन् भने वडास्तरमा माइनर ल्याब स्थापना गरी पशु सेवा प्रदान गरिएको छ।”

आधुनिकताको नाममा मिनी टिलर हलो वितरण गर्ने क्रम बढेपछि परम्परागत गोरुपालक किसानलाई समस्या परेको महसुस गरी गाउँपालिकाले यो कार्यक्रम ल्याएको जनाएको छ। अध्यक्ष थापाले भने, “विभिन्न स्थानीय तहमा कृषि आधुनिकीकरणका नाममा मिनी टिलर हलो वितरण गर्ने लहर चलेको छ, तर हामीले गाउँ–गाउँमा परम्परागत खेतीका लागि हलगोरु नै उपयुक्त देखेका छौँ। कृषिमा मलमूत्रको प्रयोग अपरिहार्य रहेकाले किसानलाई प्रोत्साहन गर्न यो अभियान सुरु गरेका हौँ।”

गाउँपालिका पशु शाखा प्रमुख होमबहादुर थापा गोरु पाल्दा वातावरणमा सकारात्मक प्रभाव पर्ने भएकाले यसलाई जोगाइराख्नुपर्ने आवश्यकता देख्छन्। त्यसैकारण पालिकाले यो अभियान सुरु गरेको उनले बताए।

गाउँपालिका–७ रेशका गोरुपालक किसान डम्मरबहादुर थापाले गोरु पाल्ने किसानले पहिलो पटक सहयोग पाउँदा सम्मानित महसुस गरेको बताए। रेशमा आफूजस्ता हलगोरु पाल्ने पाँच जना किसानले अनुदान पाएको उनले जानकारी दिए।

काठेखोला गाउँपालिकाले किसानलाई प्रोत्साहनका लागि दूधमा समेत अनुदान दिन थालेको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले बताए। यसका साथै किसानलाई निःशुल्क रूपमा पशुलाई औषधि वितरण र ९२ वटा गाईभैँसीको नस्ल सुधारका लागि कृत्रिम गर्भाधान गराइएको उनले जानकारी दिए। पालिकाले नयाँ बाख्रा पकेट विकास कार्यक्रममार्फत अनुदान र पशुपक्षी फार्म यन्त्रिकीकरणमा पनि सहयोग गरिरहेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका