
चितवन। चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकको संख्यामा यस वर्ष कमी आएको छ। गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत महिनासम्म पर्यटक संख्या घटेको निकुञ्ज प्रशासनले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार यस वर्षको चैतसम्म १ लाख ८२ हजार २ सय २७ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्। जबकि गत आर्थिक वर्षमा निकुञ्जले २ लाख ५० हजार ३ सय ३७ जना पर्यटकलाई स्वागत गरेको थियो। तथ्यांक अनुसार यस वर्ष आन्तरिक पर्यटकको संख्यामा उल्लेख्य गिरावट आएको छ। चालु आर्थिक वर्षमा ९२ हजार ८ सय ९० जना नेपाली, १६ हजार ७ सय ९८ जना सार्क राष्ट्रका र ७२ हजार ५ सय ३९ जना अन्य मुलुकका पर्यटकले निकुञ्ज घुमेका छन्।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले पर्यटक र सफारी गर्ने जिपको संख्यामा कमी आउँदा राजस्वमा समेत गिरावट आएको बताए। यद्यपि, निकुञ्जमा भीडभाड कम हुँदा वन्यजन्तुका लागि भने यो सकारात्मक हुन सक्ने उनको भनाइ छ। गत आर्थिक वर्षको यस अवधिमा २८ करोड २६ लाख रुपैयाँ राजस्व संकलन भएकोमा यस वर्ष २३ करोड ६४ लाख ९९ हजार रुपैयाँ मात्र संकलन भएको छ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले कोभिड-१९ महामारीपछि मानिसको क्रयशक्ति कमजोर हुनु र गत वर्ष महामारीका कारण घरभित्रै थुनिएका धेरै पर्यटकले निकुञ्ज भ्रमण गरेकाले यस वर्ष संख्या घटेको हुन सक्ने अनुमान गरे। उनले कुनै पनि क्षेत्रमा उच्च वृद्धिपछि क्रमशः गिरावट आउनु स्वाभाविक भएको बताए। निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन समयमा हुन नसक्दा दुर्लभ वन्यजन्तु देख्न नपाएकाले पनि पर्यटक संख्यामा केही कमी आएको हुन सक्ने उनको भनाइ छ।
क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष गुणराज थपलियाले मुख्य रूपमा सडकको अवस्थाका कारण पर्यटक आगमनमा कमी आएको बताए। चितवनबाट भैरहवा, काठमाडौं र पोखरा जाने सडक स्तरोन्नतिको काम भइरहेकाले यात्रा सहज नहुँदा पर्यटक नआएको उनको भनाइ छ। हवाई यात्रामा पनि नियमित उडान नहुने र भाडा महँगो भएकाले पर्यटक आगमनमा समस्या भएको थपलियाले बताए।




































