
सिरहा– सिरहाको सिरहा नगरपालिका– ६ स्थित भुस्कुलिया टोलका दशकौँदेखि हिलो र धुलोसँग सङ्घर्ष गर्दै आएका बासिन्दाको दैनिकी अब फेरिएको छ । हालसालै निर्माण गरिएको आरसिसी ढलानको पक्की सडकले कच्ची बस्तीको स्वरुप नै बदलिदिएको छ । बस्तीका अधिकांश घर बाँसको टाटी र माटाले बनेका छन् ।
झण्डै डेढ सय घरपरिवार रहेका यो बस्तीमा टाढैबाट चम्किने पक्की सडक बनेको छ, जसले समुदायमा आशा र उल्लासको नयाँ सन्देश दिएको छ । वर्षौँको प्रतीक्षा र सङ्घर्षपछि स्थानीय बासिन्दालाई ‘हिलो मुक्त गाउँ’ को सपना पूरा भएको अनुभूति भएको छ ।
मधेस प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयको २५ लाख रुपैयाँको बजेटमा करिब पाँच सय मिटर लामो सडक निर्माण भएको हो । वडाध्यक्ष इन्द्रजित यादवले सडक बनाउन समन्वय गरेका थिए । यो परियोजनाले बस्तीमा नयाँ आशा र खुसी ल्याएको छ ।
उनका अनुसार सडक बन्नुअघि सानो पानी पर्यो भने बस्ती हिलोमै डुब्थ्यो, धुलोका कारण बच्चाबच्चीदेखि वृद्धवृद्धासम्मको स्वास्थ्यमा असर पर्दथ्यो । अहिले भने टाढैबाट टल्किने पक्की सडकले बस्तीको मुहारै फेरिएको छ ।




































