
ललितपुर। ललितपुर जिल्लामा खानेपानी अभाव जटिल बन्दै गएको छ । भैँसेपाटी, बुङ्मती, कुसुन्तीलगायतका क्षेत्रका धारामा पानी झरेको झण्डै तीन साता बितिसकेको स्थानीयको गुनासो छ । कतिपय क्षेत्रमा महिनौँदेखि अनियमित रूपमा पानी आएको जनाइएको छ ।
भैँसेपाटीका उपभोक्ताले २१ दिनसम्म सुक्खा धारा हेरेर बसेको र निरन्तर वितरण कार्यालय धाउने अवस्था आएको बताइएको छ । बुङ्मती क्षेत्रमा त स्थानीय पानीका मुहान खोज्दै घण्टौँ टाढा पुग्न बाध्य भएका छन् । गत असोजमा आएको बाढीले पाइपलाइन क्षति गरेपछि समस्यामा थपिएको हो ।
समस्या समाधानमा ढिलाइ हुँदा सर्वसाधारण सार्वजनिक कुवा र धारामा लाइन बस्न बाध्य छन् । पानी खरिद गर्न सक्नेले निजी ट्याङ्करको सहारा लिएका छन्, तर महँगो दरका कारण धेरैलाई त्यो सम्भव छैन ।
ललितपुर वडा नं २५ का अध्यक्ष दौलत खत्री र वडा नं १८ का अध्यक्ष रविन्द्र महर्जनले पानी आपूर्तिमा निरन्तर पहल भइरहेको जनाए पनि तत्कालीन समाधान अपुग रहेको बताए । खत्रीका अनुसार दैनिकजसो वडा कार्यालयमा उपभोक्ताको गुनासो आउने गरेको छ । महर्जन स्वयं पनि पाइप जडानमा प्रत्यक्ष खटिएको बताएका छन् ।
समाजसेवी देवेन्द्र गौतमले खानेपानी जस्तो संवेदनशील विषयमा राज्य गम्भीर नभएको आरोप लगाए । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल) ललितपुर शाखाका प्रमुख विजय विश्वकर्माले बाढीले पुर्याएको क्षति अझै मर्मत नहुँदा पानी आपूर्तिमा समस्या आएको स्वीकार गरे ।
फर्पिङ स्टिम प्रणालीबाट दुई करोड लिटर पानी ल्याउन सकिने क्षमता भए पनि हाल १ करोड २० लाख लिटरमात्र आइरहेको उनले बताए । मेलम्चीको पानी पनि रोकिएको छ । विश्वकर्माका अनुसार चक्रपथबाहिरको क्षेत्रमा पानी पुर्याउन नल्लु खोला, बासुदु र चारघरे मुहानको व्यवस्थापन गर्न जरुरी छ ।
स्थानीयको माग स्पष्ट छ – राज्यले खानेपानी आपूर्तिमा गम्भीरता देखाओस्, नत्र समस्या झनै चर्कँदै जाने छ ।


































