
पर्वत। फलेवास नगरपालिकाको विभिन्न वडामा रोपिएको महिना नपुग्दै पोखरेली जेठो बुढो जातको धानमा ‘ब्लाष्ट’ रोग देखिएको छ। फलेवास–४ मुडिकुवा, ५ खानीगाउँ र ६ देवीस्थानलगायतका वडामा रोगको संक्रमण फैलिएको हो।
ब्लाष्ट रोगका कारण धानका पात, डाँठ र जरा सुक्न थालेपछि कृषक चिन्तित बनेका छन्। फलेवास नगर कृषि सञ्जालका अध्यक्ष विनोद भुसालका अनुसार अन्य जातको तुलनामा जेठो बुढोमा बढी संक्रमण देखिएको छ।
सयौं रोपनी खेतमा समस्या देखिएपछि बागलुङस्थित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइको प्राविधिक टोलीले स्थलगत अनुगमन थालेको छ। टोलीले रोग नियन्त्रणका लागि ‘राइस ब्लाष्ट’ र ‘ट्राइसिक्लाजोल’ नामक विषादी सिफारिस गरेको छ।
कार्यालका प्राविधिक ललित सुनारले एक ग्राम विषादी एक लिटर पानीमा घोलेर छर्किएपछि सात दिनभित्र सुधार देखिने जानकारी दिए। कृषकलाई निःशुल्क विषादी उपलब्ध गराइएको छ।
कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी शोविता सुवेदीले रोग नियन्त्रणका लागि स्थानीय तह, कृषि शाखा, ज्ञान केन्द्र र कृषि आधुनिकीकरण कार्यक्रमबीच समन्वय भइरहेको बताइन्।





































