जोडिनुहोस
  • होमपेज
  • म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन

म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन

म्याग्दी। म्याग्दीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जा क्षेत्रका ६९ योजना कार्यान्वयन गरेको छ।

जम्मा रु १३ करोड ९९ लाख आठ हजार बजेट विनियोजन भएकोमा रु १३ करोड १९ लाख ९२ हजार खर्च भएको डिभिजन प्रमुख झलकमोहन ओझाले जानकारी दिए।

गत वर्ष कार्यान्वयनमा रहेका योजनामध्ये ६४ वटा प्रदेश र पाँच वटा संघीय सशर्त योजनाअन्तर्गत थिए। तीमध्ये २६ वटा स्रोत सुनिश्चितता, २८ क्रमागत, र १८ चालू वर्षका योजनाहरू थिए।

खानेपानीका १७ योजनाबाट १,२८३ धारा निर्माण भए, जसमध्ये ९३१ धारामा मिटर जडान गरिएको छ। योजनामार्फत ३,११९ मिटर मुख्य र १०६ किलोमिटर शाखा पाइपलाइन बिछ्याइएको छ। साथै २२ वटा रिजर्भ ट्याङ्की र २७७ अन्य संरचना निर्माण भएको छ।

सिँचाइ योजनाले ५२ हेक्टरमा सुविधा विस्तार र ७० हेक्टरमा स्तरोन्नति गरेको छ। साथै ६ किलोमिटर पक्की नहर, ६.११ किलोमिटर पाइपलाइन, पाँच बाँध र ४७ संरचना निर्माण गरिएका छन्।

छ वटा नदी नियन्त्रण योजनामार्फत ४० मिटर पक्की र २५० मिटर ग्याबियन पर्खाल निर्माण भएको छ। रघुगङ्गा–१ बेग क्षेत्रमा ३०० ग्याबियन पर्खाल बनाएर पहिरो नियन्त्रण गरिएको छ।

नदी नियन्त्रण योजनाबाट ११० घरपरिवार लाभान्वित भएका छन् भने २.५ हेक्टर जमिन उकास गरिएको छ। ऊर्जा क्षेत्रमा ११४ घरमा जडान भएका सौर्य प्रणाली मर्मत गरिएको कार्यालयले जनाएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका