जोडिनुहोस
  • होमपेज
  • माइतीघरमा जेनजीको आन्दोलन, एसपी र डीएसपीहरूको कडा सुरक्षा घेराबन्दी

माइतीघरमा जेनजीको आन्दोलन, एसपी र डीएसपीहरूको कडा सुरक्षा घेराबन्दी

काठमाडौं । सरकारको भ्रष्टाचार, बेथिति र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजी पुस्ताले माइतीघर मण्डलामा आयोजना गरेको प्रदर्शनलाई लक्षित गरी सुरक्षा निकायले उच्च सतर्कता अपनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले माइतीघर र नयाँबानेश्वर क्षेत्रको सम्पूर्ण कमाण्ड गर्ने भएका छन्। उनीसँगै ६ जना डीएसपीहरू पनि परिचालन हुने सुरक्षा योजना तयार भएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलतर्फबाट एसपी जीवन केसीले नेतृत्व गर्नेछन् भने अपरेशन कमाण्डर सुन्दर तिवारी, नयाँबानेश्वर वृत्तका डीएसपी हरि खतिवडा, नगर प्रहरीका डीएसपी मञ्जिल मुकारुङ, सिंहदरबार वृत्तका डीएसपी जनार्दन घिमिरेसहितको टोली खटिनेछ।

आइतबार प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सम्भावित चुनौतीलाई मध्यनजर गर्दै थप सुरक्षा संयन्त्र परिचालन गर्ने निर्णय गरेको हो।

प्रदर्शन शान्तिपूर्ण हुने आयोजकले प्रष्ट पारेका छन्। विज्ञप्तिमा उनीहरूले आफ्नो अभियान कानुनी दायरामा रहेर भ्रष्टाचार अन्त्य, पारदर्शिता सुनिश्चित र प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन गरिएको बताएका छन्।

जेनजीले सहभागीलाई तोडफोड, हिंसा वा अव्यवस्था नगर्न अनुरोध गर्दै आफ्नो शक्ति एकता, सृजनशीलता र सत्यमा रहेको बताएका छन्। त्यस्तै, राजनीतिक दललाई आन्दोलनलाई स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिइएको छ।

यसबीच, काठमाडौँसँगै बुटवल लगायतका स्थानमा पनि युवाहरूले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध प्लेकार्डसहित नाराबाजी गरेका छन्। माइतीघरमा बिहानैदेखि कलेज ड्रेसमा आएका विद्यार्थीहरूले “मलाई बोल्न दे सरकार”, “नेताका छोराछोरी विदेश पढ्छन्, जनताका पसिना चुहाउँछन्”जस्ता नारा लगाउँदै सरकारविरुद्ध आक्रोश पोखिरहेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका