
काठमाडौं । आज (बिहीबार) महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै छ ।
हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गर्छन् ।
२६ सय २३ वर्षअघि यसैदिन वैशाली क्षत्रीय कुण्डग्रामका अधिपति राजा सिद्धार्थ एवं रानी त्रिशलाको छोराका रूपमा जन्मिएका थिए । राजकीय सुखसुविधा त्याग गरी उनले ३० वर्षको उमेरमा कठोर साधना शुुरु गरेको बताइन्छ ।
१२ वर्ष ६ महिनाको कठोर तपस्यापछि सिद्धि प्राप्त गरी उनी मानव कल्याणमा लागेको जैन धर्मका जानकार बताउँछन् । मूलरूपमा अहिंसा, अपरिग्रह र अनेकान्त भगवान महावीरका सिद्धान्त मानिएको छ । शान्ति, अहिंसा र पुरुषार्थलाई उनले विशेष जोड दिएको पाइन्छ ।
महावीर जयन्तीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले सम्पूर्ण जैन धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन् । सन्देशमा पञ्चशील’ सिद्धान्तका प्रतिपादक महावीरको जीवनले अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिने उल्लेख छ ।
सन्देशमा दिवसले सिङ्गो मानव जीवनमा शान्ति, सद्भाव र मैत्रीभाव प्रसार गर्नमा सहयोग पुर्याउने विश्वाससमेत व्यक्त गरिएको छ ।