
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज शीतलनिवासमा भेटवार्ता भएको छ।भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपतिको कार्यालयका अनुसार यो भेटवार्ता नियमित प्रक्रियाको एक हिस्सा हो । भेटका क्रममा प्रधानमन्त्री ओलीले सरकारका हालका गतिविधि, आगामी योजना र महत्त्वपूर्ण निर्णयहरूका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए । उनीहरूबीच देशको सुशासन र विकास निर्माणका कार्यहरूलाई थप गति दिने विषयमा पनि विचार-विमर्श भएको बताइएको छ ।
भेटमा राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी विधेयकबारे पनि प्रधानमन्त्री ओलीसँग चासो राखेका थिए । राष्ट्रपति पौडेलले ८ साउनमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि )सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचार गर्न प्रतिनिधिसभामा फिर्ता पठाएका थिए ।
सो संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यासप्रतिकूल भएको भन्दै राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा फिर्ता पठाइएका थिए । संघीय संसदको दुवै सदनबाट पारित भएपछि विधेयक प्रमाणीकरणका लागि ३१ असारमा राष्ट्रपति पौडेलसमक्ष पठाइएको थियो ।




































