
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सिफारिस प्रक्रिया तीव्र पारेको छ। विभिन्न जिल्ला तथा क्षेत्रबाट पार्टीका शीर्ष नेताहरूलाई उम्मेदवारका रूपमा सिफारिस गर्ने क्रम जारी छ।
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, वरिष्ठ नेता डा. शेखर कोइराला तथा नेतृ आरजु राणा देउवालगायतका नाम धेरै जिल्लाबाट सिफारिस भएका छन्।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा सिफारिस भएका छन्। उनी २०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।
महामन्त्री गगन थापा धनकुटा र रोल्पा दुवै क्षेत्रबाट सिफारिस भएका छन्। उनी २०७९ को चुनावमा काठमाडौं–४ बाट विजयी भएका थिए। अर्का महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ बाट पुनः सिफारिस भएका छन्, जहाँबाट उनी गत निर्वाचनमा निर्वाचित भएका थिए।
प्रभावशाली नेता डा. शेखर कोइराला मोरङ–६ बाट सर्वसम्मत रूपमा सिफारिस भएका छन्। उनी पनि २०७९ सालमा यही क्षेत्रबाट सांसद निर्वाचित भएका थिए। मोरङ–३ बाट सुनिल शर्माको नाम एकल रूपमा सिफारिस गरिएको छ। उनले विगतमा सोही क्षेत्रबाट एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै जितेका थिए।
पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा कैलाली–५ बाट उम्मेदवार सिफारिस भएकी छिन्। उनको नामसँगै नरनारायण शाह (मनु), डिल्लीराज पन्त र नृप वडको नाम पनि सिफारिस सूचीमा समावेश छ।
मोरङ–४ बाट पूर्वमन्त्री महेश आचार्य सिफारिस भएका छन्। उनीसँगै दिलिपकुमार गच्छदार, गुरुराज घिमिरे र विनोद बस्नेतको नाम पनि पठाइएको छ। मोरङ–२ बाट पूर्वमन्त्री मीनेन्द्र रिजाल सिफारिस भएका छन्। रिजालसँगै शिवनारायण सिंह र नारायणी पण्डितको नाम पनि प्रस्तावमा समावेश छ।
रुपन्देही– ३ बाट पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित छ जनाको नाम सिफारिस गरेको छ ।क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ खाणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए ।
यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको उनले बताए ।
सिन्धुपाल्चोक–१ बाट पूर्वमन्त्री मोहनबहादुर बस्नेत, पर्सा–४ बाट कांग्रेस नेता रमेश रिजाल सर्वसम्मत रूपमा सिफारिस भएका छन्। त्यस्तै, नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द बैतडीबाट उम्मेदवारका रूपमा सिफारिस भएका छन्।
सुर्खेत–२ बाट पूर्वमन्त्री हृदयराम थामीसहित उपेन्द्र थापा, कमल खत्री, नारायण कोइराला, भिष्मराज हमाल र वसन्ती बस्नेतको नाम उम्मेदवार सिफारिसमा समावेश भएको छ।
कांग्रेसका क्षेत्रीय समितिहरूले सिफारिस गरेका नाम जिल्ला कार्यसमितिमा पठाइसकेका छन्। जिल्ला कार्यसमितिबाट नाम प्रदेश कार्यसमितिमा जानेछन्। प्रदेश समितिको छलफलपछि कांग्रेस केन्द्रीय समितिले अन्तिम उम्मेदवार घोषणा गर्नेछ।







































