
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको समाधान संविधानमै खोज्नुपर्ने बताएका छन्। उनले संविधानभन्दा बाहिर गएर समाधान खोजियो भने निकट भविष्यमा नियन्त्रण गर्न नसक्ने जटिल अवस्था सिर्जना हुने चेतावनी दिएका छन्।
थापाले भिडियोमार्फत धारणा सार्वजनिक गर्दै जेनजी पुस्तालाई संविधानको निरन्तरताबारे सजग रहन र प्रणालीभित्र आमूल परिवर्तन गर्न लागिपर्न आग्रह गरे।
उनले भने, “२०६२/६३ को आन्दोलनपछि कठिन संघर्षबाट संविधान बनेको हो। यसले आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिम, अल्पसंख्यक र महिलासहित सबै समुदायका अधिकारलाई सन्तुलन गर्ने प्रयास गरेको छ। अहिले अधिकार गुमेको अनुभूति हुने अवस्था आयो भने फेरि ठूलो संकट निम्तिन सक्छ।”
थापाले जेनजी आन्दोलनमा संलग्न युवाहरुलाई सरकार निर्माण प्रक्रियामा सहभागी हुन, आन्दोलनका क्रममा भएको हत्या र तोडफोडबारे छानबिन गरी दोषीलाई कारबाही गर्न, साथै २०४६ यता सार्वजनिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न बलियो कानुन बनाउनुपर्नेमा जोड दिए।
दोस्रो दिनको हिंसात्मक गतिविधिमा जेनजीको प्रत्यक्ष संलग्नता नरहेको दाबी गर्दै उनले त्यहाँ नयाँ अनुहारसँगै पुराना पात्रहरूको समेत संलग्नता देखिएको बताए।
थापाको भनाइअनुसार, जेनजी आन्दोलनलाई दीर्घकालीन रूपमा संविधानभित्रै समाधान खोज्नेतर्फ मोड्न सकिए मात्र स्थायित्व र परिवर्तन सम्भव हुने छ।





































