समाचार
अति आवश्यक बाहेक नोकरी राजीनामा सिफारिस तथा स्वीकृत नगर्न प्रहरी प्रधान कार्यालयको सर्कुलर

नेपाल प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्म प्रहरी कर्मचारीहरूको राजीनामा सिफारिस र स्वीकृत नगर्न सर्कुलर जारी गरेको छ। पछिल्लो समय विकसित घटनाक्रमलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले यस्तो निर्णय गरेको हो।
प्रहरी प्रधान कार्यालय प्रशासन शाखाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महानिरीक्षकको सचिवालय, सबै विभाग, ब्युरो, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय, सबै प्रदेश प्रहरी कार्यालयलगायत सम्बन्धित निकायलाई पत्राचार गर्दै अत्यावश्यक अवस्थामा बाहेक राजीनामा स्वीकृत नगर्न निर्देशन दिएको छ।
प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यद्वारा हस्ताक्षरित बिहीबारको पत्रमा भनिएको छ, “हालको अवस्थालाई मध्यनजर गरी अर्को आदेश नभएसम्म त्यहाँ तथा अन्तर्गतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको अति आवश्यक अवस्थामा बाहेक नोकरी राजीनामा सिफारिस तथा स्वीकृत नगर्न अनुरोध छ।”
पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा आन्दोलन र प्रदर्शन बढ्दै गएको तथा प्रहरी कर्मचारीहरू विदेशिने क्रम पनि बढेसँगै यस्तो सर्कुलर जारी गरिएको हुन सक्ने बताइएको छ।
गत चैत १५ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईँले ‘कमान्ड’ गरेको राजावादी आन्दोलन उग्र बनेको थियो भने करिब दुई सातादेखि शिक्षक र सहकारी पीडितहरूको आन्दोलन अहिले पनि जारी छ।
