जोडिनुहोस
  • होमपेज
  • शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरूको अडान

शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने आन्दोलनरत शिक्षकहरूको अडान

शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरू माग पूरा नभएसम्म आफूहरू कार्यक्षेत्रमा नफर्किने बताएका छन् । शनिवार काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शनका क्रममा शिक्षकहरूले यस्तो बताएका हुन् । चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरू शनिवार ११ औँ दिन पनि सडकमै बसेर प्रदर्शन गरिरहेका छन् । शिक्षक महासंघको नेतृत्वमा आन्दोलन भइरहेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य मागसहित सडक आन्दोलनमा उत्रिएको महासंघले आन्दोलन र सरकारसँगको वार्ता पनि सँगसँगै गरिरहेको छ । नेपाल शिक्षक महासंघ राष्ट्रिय कार्यसमिति सदस्य गंगा ढुंगानाले सरकार र शिक्षक महासंघबिच विगतमा भएका सम्झौता बमोजिम सरकारले ऐन जारी नगरेपछि आन्दोलन उत्रिएको बताइन् । उनले एक लाख शिक्षक सडकमा आएर आन्दोलन गर्दा पनि सरकार शिक्षाप्रति उदासीन बनेको आरोप लगाइन् । उनले संसद्को नियमित अधिवेशन, विशेष अधिवेशन वा अध्यादेशमार्फत ऐन जारी गर्नुबाहेक अरू विकल्प नरहेको गरिन् । शिक्षकहरूको मागमा सरकारले बेवास्ता गरे शिक्षा क्षेत्र दशकौँसम्मका लागि ध्वस्त हुनसक्ने उनको भनाइ छ । राष्ट्रिय शिक्षक मञ्च नेपालका राष्ट्रिय अध्यक्ष कुमोदकुमार सिंहले शिक्षकहरू ऐन जारी गर्न मागसहित आन्दोलनमा उत्रिएको ११ औँ दिनसम्म पनि सरकार माग सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाए । उनले सरकारले शिक्षकको माग तत्काल सम्बोधन गरेर शिक्षकहरूलाई विद्यालय फर्काउनुपर्ने बताए । आन्दोलन अराजकतातर्फ मोडियो भने त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका