
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट रामहरि खतिवडाले राजीनामा दिएका छन् । मंगलबार संसद् बैठकलाई सम्बोधन गर्दै खतिवडाले राजीनामा दिएका हुन् ।
सङ्घीय निजामती विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको चलखेलमा खतिवडालाई नैतिक जिम्मेवार ठहर गरिएको थियो । तर, समितिको प्रतिवेदनमा आफूलाई राजीनामा दिन सिफारिस नगरेको तथा कारबाहीको सिफारिस नगरे पनि आफूले हाँसी खुसी राजीनामा दिन लागेको उनले स्पष्ट पारे । कृष्ण प्रसाद भट्टराईको उदाहरण दिँदै उनले भने, ‘नखाएको विष लाग्दैन ।’
कुलिङ पिरियडमा सबैको सहमति जुटाउन आफूले सक्दो भूमिका खेलेको भए पनि पछि यसमा छेडखानी गरिएको उनको तर्क थियो । उनले भने, ‘यसमा सबैभन्दा पहिले छानबिनको माग गर्नेमध्ये म थिएँ ।’
संसद् बैठकमा बोल्दै उनले यस प्रकरणमा आफ्नो कुनै स्वार्थ नभएको दाबी दोहोर्याए । उनले आफ्नो कार्यकालमा समितिबाट भएका कार्य प्रगति सुनाएका थिए ।





































