
काठमाडौं । जेन–जी आन्दोलनका क्रममा देशभर प्रहरी कार्यालयमा तोडफोड र आगजनी भइरहेका बेला ललितपुरमा भने स्थानीयले प्रहरीलाई फूलमालासहित स्वागत गरेका छन्।
आन्दोलनको क्रममा प्रहरीमाथि भएको आक्रमण, अपमानजनक व्यवहार र कार्यालय ध्वस्त पारिएको घटनाले सुरक्षाकर्मी निराश भइरहेका बेला स्थानीयको यो पहललाई सकारात्मक संकेतका रूपमा लिइएको छ।
सुमन महतको नेतृत्वमा भैसेपाटीस्थित प्रहरी चौकी सरसफाइ गरी पुनः सञ्चालनमा ल्याइएको छ। आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछि त्यहाँका प्रहरी ज्यान जोगाउन भाग्नुपरेको थियो। अहिले प्रहरीहरू फर्किएर दैनिक कार्य सुचारु गर्न थालेका छन्।
स्थानीयले भने, “प्रहरी नागरिकका साथी हुन्। उनीहरूबिना समाज चल्दैन। हिंसाले होइन, सहकार्यले मात्र शान्ति र सुरक्षा सम्भव हुन्छ।”





































