
सिंहदरबार : ऐतिहासिक सम्पत्ति कि राजनीतिक अवसरको उपकरण ?
काठमाडौं। नेपालको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको इतिहास केवल ईंटा(पत्थर र महलको भव्यतामा मात्र सीमित थिएन् । यसले सत्ता, राजनीति, संघर्ष र निर्णयहरूको एउटा जटिल कथा बोकेको थियो । एक शताब्दीभन्दा लामो यात्रामा सिंहदरबारले केवल इतिहासकै उतारचढाव देखेन, राज्यसत्ताको चरित्र र नेपालका शासकहरूको दृष्टिकोण पनि उजागर गर्यो।
सन् १९०८ (वि.सं. १९६५) मा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर राणाले सिंहदरबार निर्माण सुरु गर्दा देशका अधिकांश नागरिक दैनिकीको कठोर संघर्षमा थिए। गरिबी, असमानता र निरक्षरतामा डुबेका जनता सरकारसँग आधारभूत सेवा खोजिरहेका थिए, तर सत्ताधारीले विलासी महल निर्माणलाई प्राथमिकता दिए। करिब एक वर्षमै तयार भएको यो दरबार सुरुमा उनको निजी आवास थियो।
सिंहदरबारलाई राणाशासनको भौतिक प्रतीक मानिन्छ। भव्य मार्बल, विदेशी झूमर, चाँदीका फर्निचर र क्रिस्टलका सजावटले सत्ता र ऐश्वर्य प्रदर्शन गरियो। तर, यो ऐश्वर्य जनता र देशको दुःख–पीडाको प्रतिफल थियो भन्ने आलोचना आज पनि हुन्छ। वि.सं. १९८२ वैशाख १ गते यही दरबारबाट दासप्रथा उन्मूलनको घोषणा गरियो। इतिहासले यसलाई प्रगतिशील कदम मान्छ, तर आलोचकहरू भन्छन्—यो कदम पनि राणाशासनको वैधता कायम राख्ने रणनीतिको हिस्सा थियो।
दरबारको नाम प्रवेशद्वारमा रहेका सिंहका मूर्तिबाट आएको हो। यसको वास्तुकलामा युरोपेली शैली (पल्लादियन, कोरिन्थियन, नियोक्लासिकल मेन्सन र बारोक) को मिश्रण पाइन्छ। यसले तत्कालीन शासकहरूको विदेशी ऐश्वर्यप्रतिको आकर्षणलाई झल्काउँछ।
निजी सम्पत्तिबाट राष्ट्रिय सम्पत्तिसम्म
निर्माणपछि चन्द्र शमशेरले सिंहदरबार नेपाल सरकारलाई २ करोड रुपैयाँमा बेचे। त्यसपछि पद्म शमशेरबाहेक अन्य सबै राणा प्रधानमन्त्रीहरूले यसलाई सरकारी निवासका रूपमा प्रयोग गरे। अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर २००९ सालसम्म यही दरबारमा बसिरहेका थिए। राणा शासन समाप्त भएपछि मात्र यो राष्ट्रिय सम्पत्ति बन्यो।
आगलागी र क्षतिको प्रश्न : २५ असार २०३० मा विद्युत् सर्टका कारण भएको आगलागीले सिंहदरबारलाई ठूलो धक्का दियो। परराष्ट्र मन्त्रालयका महत्त्वपूर्ण कागजपत्र जलेर नष्ट भए। तत्कालीन प्रधानमन्त्री कीर्तिनिधी बिष्टले सरकारी सम्पत्तिको सुरक्षामा असफल भएको भन्दै राजीनामा दिए।
आगलागीपछि सिंहदरबारको बाँकी भाग पुनःनिर्माण गरियो। तर, मूल संरचनाका धेरै मौलिकता र कलात्मक मूल्य भने सदाका लागि हराए। यसले नेपालको सांस्कृतिक सम्पदाप्रति शासनको संवेदनशीलताको प्रश्न पनि उठाउँछ। सिंहदरबार केवल ऐतिहासिक घोषणाको स्थान मात्र होइन, दमनको प्रतीक पनि हो। यही दरबारबाट जुद्ध शमशेरले दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र गंगालाललाई मृत्युदण्ड दिने फैसला सुनाएका थिए। यो घटना सिंहदरबारलाई लोकतान्त्रिक आन्दोलनको दमनस्थलको रूपमा पनि स्मरण गराउँछ।
हिजोसम्म सिंहदरबारलाई देशको प्रमुख प्रशासनिक केन्द्र मानिन्थ्यो । तर, २०८२ साल भदौ २३/२४ गते जेनजी समुहले सिंहदरबारमा आगो लगाए । आगलागिपछि सिंहदरबारको अस्त्वि हराएको छ । नेपाल तथा विश्वले निकै महत्वपूर्ण र शक्तिशाली,ऐतिहासिक,प्राचिन,पुरातात्विक मानेको सिंहरबार आज जलेर खरानीमा परिणत भएको छ । यसले सबैलाई निराश बनाएको छ ।
वास्तुकला तथा शृङ्गार
यो भवन युरोपेली शैलीमा बनेको छ। चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरू शिकार गरिएका जनावरहरू तथा युरोपेली शैलीका चित्रकलाहरूले सजाएका थिए। बत्ती तथा अन्य शृङ्गारका वस्तुहरू युरोपबाट मगाईएको थियो।
सिंहदरबारमा महत्वपूर्ण कार्यालयहरू एकै साथ थिए :
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
गृह मन्त्रालय
जलस्रोत मन्त्रालय
उद्योग मन्त्रालय
अर्थ मन्त्रालय
कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय
जल तथा शक्ति आयोग
शान्ति तथा पुनस्निर्माण मन्त्रालय
उद्योग मन्त्रालय
रक्षा मन्त्रालय
वन तथा भू-संरक्षण मन्त्रालय
सूचना तथा सञ्चार मन्त्रालय
परराष्ट्र मन्त्रालय
वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय
अन्य सरकारी कार्यालयहरू
रेडियो नेपाल
नेपाल टेलिभिजन
राष्ट्रिय योजना आयोग
संसद भवनहरू
राष्ट्रिय सतर्कता केन्द्र समेत सिंहदरबारमा रहेका थिए ।




































