जोडिनुहोस
  • होमपेज
  • हयातमा संकट : तोडफोडपछि सबै कर्मचारी बेरोजगार

हयातमा संकट : तोडफोडपछि सबै कर्मचारी बेरोजगार

काठमाडौँ । जेन्जी आन्दोलनका क्रममा भएको तोडफोडपछि बन्द रहेको हयात रिजेन्सी होटलले मर्मतसम्भारका कारण देखाउँदै होटलमा कार्यरत सबै मजदुरलाई बिदा दिएको छ। होटलका अनुसार हाल कुल १३३ जना मजदुर कार्यरत थिए।

होटलका महाप्रबन्धक आशीष कुमारले मानव संसाधन विभागलाई लेखेको पत्रमा होटल हाल पूर्ण रूपमा बन्द रहेको, मर्मतका लागि ऋण खोज्नुपर्ने अवस्था आएको र कर्मचारी राख्न नसकिने उल्लेख गरेका छन्। उनका अनुसार, श्रम ऐन २०७४ को दफा १४५ बमोजिम मंसिर २२ गतेदेखि लागू हुने गरी सम्पूर्ण श्रमिकलाई बिदा दिने निर्णय गरिएको छ।

महाप्रबन्धक कुमारका अनुसार, “भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा आपराधिक समूह होटलभित्र प्रवेश गरी तोडफोड, लुटपाट र आगजनी गरेपछि होटल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। मर्मत नगरी सञ्चालनमा ल्याउन सक्ने अवस्था छैन।”

उनले थपे, “आगलागीका कारण होटलमा रहेका एक विदेशी पाहुनाले ज्यान जोगाउने प्रयासमा चौथो तलाबाट हामफाल्दा घाइते भई उपचारको क्रममा मृत्यु भएको छ। त्यस्तै, अन्य विदेशी पाहुनाका लगेज र सरसामान समेत लुटपाट र आगलागीका कारण नष्ट भएका छन्, जसले होटलको अन्तर्राष्ट्रिय प्रतिष्ठामै नकारात्मक प्रभाव पारेको छ।”

महाप्रबन्धकले भनेका छन्, “कोभिड–१९ महामारीका कारण लामो समय होटल तथा पर्यटन क्षेत्र प्रभावित भइसकेको अवस्थामा भदौ २४ गतेको घटनाले फेरि ठूलो आर्थिक क्षति पुर्‍याएको छ। मर्मतसम्भारका लागि करोडौँ खर्च लाग्नेछ र सो अवधिभर कुनै आम्दानी नहुने भएकाले होटल गम्भीर आर्थिक संकटमा परेको छ।”

प्रचलन खबर

धेरै टिप्पणी गरिएका