काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बलले विस्तृत १७ बुँदे ‘निर्वाचन परिचालन नीति’ तयार पारेको छ।
सशस्त्र प्रहरीका सूचना अधिकारी तथा प्रवक्ता डीआईजी मनिष थापाका अनुसार यो नीति चुनावलाई पारदर्शी, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले बनाइएको हो। उनले तोकिएको सुरक्षा दायित्वलाई त्रुटिरहित रूपमा पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक भएको बताए।
तयार गरिएको नीतिअनुसार निर्वाचनको एक महिनाअघि नै प्रत्येक निर्वाचन क्षेत्रमा सुरक्षा वेश स्थापना गर्ने व्यवस्था छ। त्यस्तै स्ट्राइकिङ टीम र मोबाइल टोली १५ दिनअघि नै सक्रिय रूपमा परिचालन गरिने प्रावधान पनि समावेश गरिएको छ।
जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारहरू र कारागारबाट भागेका कैदीबन्दी अझै नियन्त्रणमा नआएकाले यस पटकको निर्वाचन सुरक्षा दृष्टिले चुनौतीपूर्ण रहने सशस्त्र प्रहरीको आकंलन छ। सशस्त्र प्रहरीले यस्तो चुनौतीलाई सम्बोधन गर्दै आवश्यक जनशक्ति, उपकरण र परिचालन रणनीति तयारी अवस्थामा राख्ने जनाएको छ।







































