
मर्चवार (लुम्बिनी) । रुपन्देहीको मर्चवारी–२ अमवास्थित ‘सगरा’ नामक प्राचीन पोखरीलाई स्थानीयले ऐतिहासिक देवदह (कोलियग्राम) भएको दाबी गरेका छन्। यो स्थललाई बौद्ध ग्रन्थ र इतिहासकारहरूले बुद्धकी आमा मायादेवी, सानीमा प्रजापति गौतमी र श्रीमती यशोधराको जन्मस्थानको रूपमा वर्णन गरेका छन्।
इतिहासकार एलेक्जेण्डर कनिङ्घम, फ्रान्सिस बुकानन–ह्यामिल्टन, डा. विजय श्रीवास्तवलगायतका अनुसन्धानकर्ताले लुम्बिनीबाट करिब ११ मील पूर्व र रोहिणी नदी नजिक रहेको अमकोहिललाई प्राचीन देवदहसँग जोडेका छन्। बौद्ध भिक्षु, स्थानीय अभियन्ता र लुम्बिनी विकास कोषका अधिकारीहरूले यहाँका भग्नावशेष, स्तुप, पोखरी र धार्मिक स्थललाई पुरातात्विक दृष्टिले महत्वपूर्ण मानेका छन्।
लुम्बिनी विकास कोषका अनुसार यस क्षेत्रमा व्यवस्थित सर्वेक्षण, जिओ–स्पेसियल म्यापिङ र परीक्षण उत्खनन आवश्यक छ। स्थानीय निकाय र सामाजिक संघ–संस्थाले प्रचार–प्रसार र संरक्षणको पहल गरेमा यो स्थान बौद्ध–धार्मिक इतिहास र पर्यटन दुवैका लागि महत्वपूर्ण केन्द्र बन्न सक्ने सरोकारवालाको भनाइ छ।





































