
नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि ट्राफिक प्रहरीले यातायात व्यवस्था मिलाएको छ ।
महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले दिउँसो भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा गर्दैछन् । उदघाटन समारोहस्थलमा नेता–कार्यकर्ताहरू बिहानै पुगेका छन् । उदघाटन समारोहस्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली समेत परिचालन भएको छ ।
यस्तै प्रतिनिधि तथा पर्यवेक्षकका सवारीसाधन राख्नका लागि तीन ठाउँमा पार्किङको व्यवस्था गरिएको छ ।
एमालेका सचिव गोकर्ण विष्टको संयोजकत्वमा रहेको यातायात व्यवस्थापन समितिले सार्वजनिक तथा निजी सवारीसाधनलाई व्यवस्थित रुपमा पार्किङ गर्नका लागि भक्तपुरका तीन ठाउँमा पार्किङको व्यवस्था मिलाएको हो ।
महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आउने नेता–कार्यकर्ताहरुका लागि सवारी साधनको पार्किङ गठ्ठाघर र जगातीमा गर्ने व्यवस्था मिलाएको छ ।
काठमाण्डुतर्फबाट जानेलाई गठ्ठाघरमा र पूर्वी नाका हुँदै आउनेहरूलाई जगाती क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ ।
यस्तै, सिन्धुपाल्चोक, दोलखा, रसुवा, नुवाकोटलगायतका स्थानबाट आएका सवारीसाधनलाई भने कमलविनायक करिडोरमा पार्किङको व्यवस्था मिलाइएको छ ।
यस्तै जगाती क्षेत्रका इँटाभट्टा, प्लटिङ लगायतका स्थलमा पार्किङको व्यवस्था मिलाइएको छ । उद्घाटन समारोहमा सहभागीहरू जुलुससहित सल्लाघारीसम्म पुग्ने व्यवस्था मिलाइएको छ ।
एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जुलुसहरू सकेसम्म मुल सडकको दायाँ–बायाँ रहेका सर्भिस लेन प्रयोग गरी अघि बढाउने तयारी गरिएको बताए ।



































