
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताएका छन् ।
नव वर्ष २०८२ को सुखद् अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले आजको दिन जनताको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न आग्रह गरेका छन् । ‘आजको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साझा संकल्प लिएर अघि बढ्न म सम्वद्ध सबैलाई अपिल गर्दछु’, उनले भनेका छन् ।
‘हामी नेपालीहरू नयाँ वर्षलाई विगतको समीक्षा गर्ने तथा आगामी दिनका लागि प्रतिज्ञा र सङ्कल्प गर्ने शुभसाइतका रुपमा लिन्छौँ’, उनले शुभकामना सन्देशमा भनेका छन्, ‘विशेष पर्व र दिनहरूमा जीवनका लक्ष्यहरू निर्धारण गर्ने र त्यसलाई पूरा गर्न जीवनभर सङ्कल्पबद्ध रहने हाम्रो परम्परा छ । यस अर्थमा, नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न सङ्कल्प गर्ने दिन हो ।’
विश्व प्रविधिमैत्री भइसकेको अवस्थामा प्रविधिमैत्री अभ्यासलाई अझ वृहत बनाई सुदृढ गर्दै लैजानु पर्नेमा राष्ट्रपतिले जोड दिएका छन् । कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानून र अवसरको सिर्जना गर्दै कृषि, पर्यटन र जलस्रोतको विकासद्वारा समृद्ध राष्ट्र निर्माण गर्ने सङ्कल्प गर्न आग्रह गरेका छन् ।