
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने साझा गन्तव्य प्राप्त गर्न सबैमा सकारात्मक सोच, व्यवहार र आत्मबल आवश्यक भएको बताएका छन् ।
नयाँ वर्ष २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, प्रगति, सफलता र नयाँ उत्साह पैदा गरोस् भन्ने कामना गर्दै प्रधानमन्त्रीले अनेकौँ कठिनाइका बाबजुद हासिल गरेका उपलब्धिलाई आधार बनाएर उज्यालो भविष्यतर्फ अगाडि बढ्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले जातीय, क्षेत्रीय, सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रका साझा सम्पत्ति हुन् भन्दै यिनलाई परस्पर विरोधी शक्तिका रुपमा नभइ तिनीहरु बीचको एकतालाई शक्तिका रुपमा विकास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री ओलीले युवापुस्ता राष्ट्रका सम्भावना भएकाले उनीहरूको जोस, जाँगर र सिर्जनशीलतालाई राष्ट्र निर्माणको मूलधारमा ल्याउन सरकारले युवाहरूलाई उद्यमशीलता, प्रविधि, शिक्षा र स्वरोजगारमार्फत आत्मनिर्भर र आत्मविश्वासी बनाउने नीति अवलम्बन गरेको सन्देशमा बताएका छन ।
मुलुकको लोकतान्त्रिक प्रणालीले ल्याएको परिवर्तनलाई हेर्ने मात्र नभइ त्यसलाई अँगाल्ने, उत्सवको रूपमा मनाउने र अझ सकारात्मक दिशामा अघि बढ्ने सङ्कल्प लिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले निराशा फैलाएर मुलुकलाई गलत बाटोमा लैजान खोज्ने प्रवृत्तिलाई परास्त गर्दै राष्ट्रप्रेम, एकता र प्रगतिमा भरोसा गर्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको सन्देशमा उल्लेख गरेका छन् ।