जोडिनुहोस
  • होमपेज
  • सर्पदंशबाट महिलाको मृत्युपछि कञ्चनपुरमा छाउगोठ भत्काउने अभियान, सबै स्थानीय तहलाई प्रशासनको निर्देशन

सर्पदंशबाट महिलाको मृत्युपछि कञ्चनपुरमा छाउगोठ भत्काउने अभियान, सबै स्थानीय तहलाई प्रशासनको निर्देशन

काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगाली टोलकी २८ वर्षीया कमला दमाईको छाउगोठमा सुत्दासुत्दै सर्पदंशबाट मृत्यु भएपछि जिल्लाभर छाउगोठ हटाउने अभियान सुरु गर्न लागिएको छ। यस अभियानका लागि जिल्ला प्रशासन कार्यालयले कञ्चनपुरका ९ वटै स्थानीय तहलाई औपचारिक पत्राचार गरेको छ।

जिल्ला प्रशासन कार्यालयले सोमबार प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको हस्ताक्षरसहित सबै स्थानीय तहहरूलाई पत्र पठाउँदै छाउपडी प्रथा अन्त्यका लागि ‘विशेष अभियान’ सञ्चालन गर्न निर्देशन दिएको हो। पत्रमा महिलाको मृत्युजस्तो पीडादायी घटना फेरि नदोहोरियोस् भनेर कुप्रथाविरुद्ध सामूहिक कदम चाल्न आवश्यक रहेको उल्लेख छ।

“महिनावारीको समयमा छाउगोठमा बस्ने प्रथा सामाजिक रूपमा स्वीकारिए पनि यसले ज्यानै जाने दुर्घटनामा परिणत हुन थालेको छ,” पत्रमा भनिएको छ, “अब यसलाई रोक्न समुदायस्तरमै चनाखो र सक्रिय हुनुपर्छ।”प्रशासनले भीमदत्त, दोधारा चाँदनी, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका तथा बेलडाँडी र लालझाडी गाउँपालिकालाई छाउगोठ भत्काउन तत्काल अभियान थाल्न आग्रह गरेको छ।

कञ्चनपुर प्रशासनको यो कदम छाउपडी प्रथा अन्त्य गर्न राज्य स्तरबाट सुरु गरिएको एउटा महत्त्वपूर्ण हस्तक्षेपका रूपमा हेरिएको छ। महिला अधिकारकर्मीहरूले यसलाई स्वागत गर्दै यस अभियानलाई दीर्घकालीन रुपमा निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

516073083_1400314491248469_510106493861020255_n

धेरै टिप्पणी गरिएका