
नुवाकोट। त्रिशूली नदीले विदुर–वेत्रावती–किस्पाङ–मैलुङ–रसुवागढी सडकको पक्कि खण्ड कटान गर्दा त्रिदेशीय सडक मार्ग अवरुद्ध भएको छ। बुधवारदेखि आवतजावत ठप्प भएको छ भने आसपासका वस्ती र उत्तरगया गाउँपालिका कार्यालय समेत जोखिममा पुगेका छन्।
नुवाकोट र रसुवाका प्रजिअ, सुरक्षा अधिकारी तथा स्थानीय अध्यक्षको बैठकले तत्काल सडक मर्मत, पुर्ननिर्माण र नदीबाट थप कटान रोक्न तटवन्ध निर्माण गर्ने निर्णय गरेको छ।
त्रिशूली नदीमा कटान पूर्व–असार २४ र साउन १४ गते पनि नुवाकोट र रसुवाका विभिन्न स्थानमा क्षति पुर्याइसकेको थियो। उत्तरगया–५ नौबिसे क्षेत्र विशेष जोखिममा रहेको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले भारी वर्षाका कारण सचेत रहन सर्वसाधारणमा अपिल जारी गरेको छ। जल तथा मौसम पूर्वानुमान विभागले बुधबारदेखि शुक्रबारसम्म लगातार वर्षाको सम्भावना जनाएको छ।





































