
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले न्यायिक छानबिन समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने घोषणा गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा राप्रपाका सांसद ध्रुवबहादुर प्रधानले अनियमितता रोक्न समिति गठन अपरिहार्य भएको बताउँदै समिति नबनेसम्म सदन बहिष्कार जारी रहने स्पष्ट पारे। बैठक बहिष्कार गर्नुअघि उनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको नैतिकताका आधारमा राजीनामा सकारात्मक भए पनि पर्याप्त नभएको टिप्पणी गरे।
“भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध प्रश्न उठेको छ। अनियमितता रोक्न न्यायिक छानबिन समिति बनाउनु आवश्यक छ,” प्रधानले भने।
त्यसैगरी, रास्वपाकी सांसद चन्दा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी सभापति रवि लामिछानेविरुद्धको अभिव्यक्ति आपत्तिजनक भएको बताइन्। उनले अदालतको फैसला कार्यान्वयनमा राज्यले हस्तक्षेप गर्न नमिल्ने र न्यायपालिकाको स्वतन्त्रता कायम रहनुपर्नेमा जोड दिइन्।
कार्कीले मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरी आर्थिक पारदर्शिता कायम गर्नुपर्ने र जनताको जनभावनाको कदर गर्न सबै दललाई आग्रह गरिन्।




































