जोडिनुहोस
  • होमपेज
  • सरकारको भुक्तानी प्रणाली बन्द, तलबमा समस्या नहुने

सरकारको भुक्तानी प्रणाली बन्द, तलबमा समस्या नहुने

काठमाडौँ । जेनजी प्रदर्शनपछि खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै महालेखा नियन्त्रक कार्यालयले बिहीबारदेखि सरकारको भुक्तानी प्रणाली बन्द गरेको छ। तत्कालीन परिस्थिति र नयाँ सरकारको प्राथमिकता स्पष्ट नभएकाले खर्च रोकिएको महालेखा नियन्त्रक शोभाकान्त पौडेलले जानकारी दिए।

उनका अनुसार भुक्तानी प्रणाली बन्द भए पनि राजस्व संकलन भने नियमित रूपमा भइरहेको छ। शुक्रबारसम्म सरकारले एक खर्ब ४४ अर्ब ५२ करोड राजस्व संकलन गरेको छ। प्रदर्शनका मुख्य दिन भदौ २४ र २५ गते राजस्व संकलन निकै कम भएको थियो।

कार्यालयले भुक्तानी प्रणाली रोकिए पनि निजामती, सेना र प्रहरीसहित तीन लाखभन्दा बढी कर्मचारीको मासिक तलब भने ढिलाइ बिना पठाइने स्पष्ट पारेको छ। तर दसैँका लागि दिइने अतिरिक्त तलब नयाँ सरकारको निर्देशनअनुसार हुने बताइएको छ।

प्रदर्शनका क्रममा अर्थ मन्त्रालय, भन्सार, कर कार्यालय र कोष लेखा नियन्त्रक कार्यालय क्षतिग्रस्त भएपछि तत्काल सामान्य सेवा मात्र दिन सकिने अवस्था आएको छ। अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेका अनुसार मन्त्रालयका प्रमुख सफ्टवेयर सुरक्षित रहेका छन्।

आन्तरिक राजस्व विभागका अनुसार काठमाडौं बाहिरका अधिकांश कर कार्यालय क्षतिग्रस्त भएका छन् भने विभागको वेबसाइटमा साइबर आक्रमणसमेत भएको थियो। अहिले वेबसाइट पुनः सञ्चालनमा ल्याइएको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
One-Stop Multi-Asset Trading and Investing Experience