
काठमाडौं । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउन नेपाल प्रहरीले सामाजिक सञ्जालमा फैलिएका तस्बिर–भिडिओ र सीसीटीभी फुटेजलाई प्रमुख आधार मान्दै अनुसन्धान अघि बढाएको छ।
प्रहरीले आम नागरिकलाई घटनासम्बन्धी प्रमाण उपलब्ध गराउन आग्रह गर्दै जानकारी दिने व्यक्तिको गोपनीयता सुरक्षित रहने आश्वासन दिएको छ। साथै, आन्दोलनका बेला लुटिएका सामग्री वा नियन्त्रणमा लिइएका प्रहरी पोसाक तथा हतियारहरू नजिकैको प्रहरी कार्यालय वा तोकिएका हेल्पलाइन नम्बरमा बुझाउन अपिल गरिएको छ।
उच्छृङ्खल समूहले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासहित सरकारी कार्यालय, नेताका निवास र व्यावसायिक प्रतिष्ठानमा क्षति पुर्याएको भन्दै प्रहरीले अनुसन्धानलाई तीव्र पारेको छ। केही प्रशासन कार्यालयले सामाजिक सञ्जाल र सीसीटीभी फुटेजमार्फत संलग्न व्यक्तिहरू पहिचान भइसकेको र गिरफ्तारी प्रक्रिया अघि बढिरहेको जनाएका छन्।
यसअघि तीनकुनेमा भएको राजावादी आन्दोलनताका सामाजिक सञ्जाल र स्मार्टफोनकै सहायताले अपराधी पत्ता लगाइएको उदाहरण रहेकाले, यसपटक पनि त्यही मोडललाई प्राथमिकता दिने तयारी प्रहरीले गरेको छ।




































