जोडिनुहोस
  • होमपेज
  • विपिनको शव इजरायली सेनाको अस्पतालमा, डीएनए परीक्षणपछि परिवारलाई बुझाइने

विपिनको शव इजरायली सेनाको अस्पतालमा, डीएनए परीक्षणपछि परिवारलाई बुझाइने

काठमाडौं । हमासको कब्जामा परी मृत्यु भएका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायली सेनाको अस्पतालमा राखिएको छ। इजरायलको राजधानी तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा विपिनको शव ल्याइपुर्‍याइएको नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए।

कञ्चनपुरको भीमदत्त नगरपालिका निवासी विपिन सन् २०२३ मा “लर्न एन्ड अर्न” कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि इजरायल गएका थिए। ७ अक्टोबर २०२३ मा इजरायल र गाजा सीमा क्षेत्रको किबुज अलुमिमबाट उनी हमासद्वारा अपहरणमा परेका थिए।

हमासले हालै अन्तर्राष्ट्रिय रेडक्रसमार्फत विपिनसहित अन्य तीन जना — गाई इलौज, योसी शाराबी र ड्यानियल पेरेजको शव इजरायली पक्षलाई बुझाएको हो। इजरायली सेनाले ती शवहरूलाई आफ्नो अस्पतालमा परीक्षणका लागि राखेको छ।

राजदूत पण्डितका अनुसार, विपिनको शव डीएनए परीक्षणपछि मात्र आधिकारिक रूपमा परिवारलाई बुझाइनेछ। यसका लागि अमेरिकामा बसोबास गरिरहेकी उनकी आमा पद्मा जोशी र बहिनी पुष्पालाई इजरायल बोलाउने तयारी भइरहेको छ।

“हमासले शव रेडक्रसलाई बुझायो, रेडक्रसले इजरायली सेनालाई। अहिले विपिनको शव तेलअभिभस्थित इजरायली सेनाको अस्पतालमा राखिएको छ,” राजदूत पण्डितले बताए, “डीएनए परीक्षणपछि परिवारलाई बोलाएर शव हस्तान्तरण गरिनेछ।”

शव परिवारको जिम्मा लगाइसकेपछि नेपाल ल्याउने प्रक्रिया अघि बढाइने बताइएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजिप्टको शर्म अल–शेखमा सम्पन्न गाजा शान्ति सम्मेलनमा सहभागिता जनाउँदै शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन्। इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सीसीसँगै सम्मेलनको नेतृत्व गरेका ट्रम्पले यसलाई “नयाँ मध्यपूर्वको ऐतिहासिक बिहानी” भनेर सम्बोधन गरेका थिए। सम्मेलनमा २० भन्दा बढी मुलुकका नेताहरू सहभागी भए पनि इजरायल र हमासलाई आमन्त्रण गरिएको थिएन।

शान्ति प्रयासको क्रममै, हमासले चार जना इजरायली बन्धकको शव फिर्ता गर्नुका साथै बाँकी २० जीवित बन्धकहरूलाई दुई समूहमा रिहा गरिसकेको छ। इजरायलले यसवापत हालसम्म २५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका