जोडिनुहोस
  • होमपेज
  • भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने

भोजपुरमा ‘मुन्दुम अल्ट्रा ट्रेल रेस’ हुने

भोजपुर। भोजपुरका तीन स्थानीय तहले संयुक्त रूपमा ‘मुन्दुम पदमार्ग अल्ट्रा ट्रेल रेस’ आयोजना गर्ने भएका छन्। मुन्दुम पदमार्गको प्रचार–प्रसार र साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रामप्रसाद राई, हतुवागढी र आमचोक गाउँपालिकाले प्रतियोगिता गर्न लागेका हुन्।

आगामी मङ्सिर २० देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबारे सोमबार आमचोक गाउँपालिकाको आयोजनामा बालङखामा संयुक्त बैठक बसेर जानकारी दिइएको थियो।

हतुवागढी–९ कोप्चेबाट सुरु हुने रेस आमचोकको बयाङ–थामडाँडा हुँदै रामप्रसादराई गाउँपालिकाको पामखाङ, भञ्ज्याङ, कपासे, सेल्मे, पाँचधारे र तावाभञ्ज्याङसम्म करिब ६५ किलोमिटर दूरीमा सञ्चालन हुने हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए। उनका अनुसार, प्रतियोगिता प्रभावकारी, सुरक्षित र व्यवस्थित बनाउन तीनै गाउँपालिकाले संयुक्त कार्ययोजना तयार गरेका छन्।

रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार, पर्यटन र खेलकुदलाई एकीकृत गर्दै सामुदायिक तथा साहसिक पर्यटन विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको हो।

आमचोक गाउँपालिका अध्यक्ष अशोक राईले प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका धावकको सहभागिता रहने बताए। उनका अनुसार, प्रतियोगिताले स्थानीय संस्कृति, परिकार र पहिचानलाई देशविदेशमा चिनाउने अवसर प्रदान गर्नेछ।

प्रतियोगिताका लागि तीनै गाउँपालिकाले पाँच–पाँच लाखका दरले जम्मा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्। ग्रेटर मुन्दुम पदमार्गअन्तर्गत हाल तीनै गाउँपालिकामा पदमार्ग निर्माण कार्य जारी छ, जसले भोजपुरलाई भविष्यमा साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास स्थानीय तहले व्यक्त गरेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Vegas Casino: Dragon Slots