
भोजपुर— भोजपुरस्थित अरुण गाउँपालिकामा अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास भएको छ । उक्त भवनको अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रुपमा शिलान्यास गरे ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ करोड १८ लाखको आर्थिक सहयोग उक्त भवन निर्माण हुन लागेको छ ।
तीन तल्ले भवनमा कक्षा कोठा, शिक्षक कक्ष, बैठक कक्ष, कार्यक्रम हल, छात्रा एवम् छात्रका लागि छुट्टाछुट्टै शौचालय र अन्य सहयोगी संरचनासहितको निर्माणमा उपयोग गरिनेछ ।

यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो ।अरुण गाउँपालिकाका अध्यक्ष र राजनीतिक प्रतिनिधिहरुले नेपालको उन्नति र विकासका लागि भारत सरकारले प्रदान गरिरहेको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभयो । अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनले यस क्षेत्रको सांस्कृतिक र शैक्षिक पूर्वाधारको विस्तार गर्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालमा विभिन्न क्षेत्रहरुमा ५७० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनालाई अघि बढाएको छ । यी मध्ये ९३ वटा परियोजनाहरु कोशी प्रदेशमा छन् ।

यसका अलावा भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थाहरुलाई १०४९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेको छ जसमध्ये ७ वटा एम्बुलेन्स र एउटा स्कुल बस भोजपुरमा उपहार स्वरुप प्रदान गरिएको छ । भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ ।




































