जोडिनुहोस
  • होमपेज
  • राप्तीमा थप १५ घडियाल गोही छाडियो, संरक्षणमा चुनौती कायमै

राप्तीमा थप १५ घडियाल गोही छाडियो, संरक्षणमा चुनौती कायमै

चितवन  । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका थप १५ वटा गोहीलाई राप्ती नदीमा छाडेको छ। छाडिएका गोहीमध्ये दुई भाले र १३ पोथी रहेका छन्। यो सँगै साउनयता राप्तीमा छाडिएका गोहीको संख्या ११८ पुगेको निकुञ्ज कार्यालयले जनाएको छ। यस वर्ष छाडिएका गोही सन् २०२० मा कोरलिएका हुन्।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वन्यजन्तु सप्ताहको अवसर पारेर यी गोहीहरू छाडिएको हो। गत आर्थिक वर्षमा मात्र १०५ वटा गोही राप्तीमा छाडिएको थियो। निकुञ्जले नदी किनारबाट गोहीका अन्डा सङ्कलन गरी प्रजनन् केन्द्रमा कोरल्ने र हुर्किएपछि नदीमा छाड्ने कार्यलाई निरन्तरता दिँदै आएको छ।

थापामगरले हालसम्म राप्ती र नारायणीसहित देशका विभिन्न नदीमा २०७५ वटा घडियाल गोही छाडिसकिएको जानकारी दिए। तर, उनले यी गोहीहरूको बच्ने दर भने निकै कम रहेको बताए। गत वर्ष गरिएको सर्वेक्षण अनुसार राप्तीमा १५२ र नारायणीमा ११३ वटा मात्र गोही भेटिएका थिए। हाल प्रजनन् केन्द्रमा ६८२ वटा गोही रहेका छन्।

सङ्कटापन्न सरीसृप प्राणी घडियाल गोही विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान र म्यानमारसम्म पाइन्थ्यो। तर, अहिले यिनीहरूको अस्तित्व नेपाल र भारतमा मात्र सीमित छ। सन् १९४० को दशकमा विश्वमा १० हजारको हाराहारीमा रहेको घडियालको संख्या सन् १९७० सम्म आइपुग्दा दुई प्रतिशतमा झरेपछि यिनीहरूको संरक्षणमा विश्वव्यापी चासो बढेको संरक्षणकर्मीहरू बताउँछन्।

चितवन राष्ट्रिय निकुञ्जले सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरेपछि यिनीहरूको संरक्षण प्रयास थालेको हो। त्यतिबेला देशभर १०० भन्दा कम घडियाल रहेको अनुमान गरिएको थियो। तर, नदीमा बढ्दो मानवीय गतिविधि, नदीजन्य पदार्थको उत्खनन, प्रदूषण र माछा मार्ने जस्ता कारणले गोहीहरू आफ्नो प्राकृतिक बासस्थानमा असुरक्षित बन्दै गएको थापामगरले बताए। बाढीका कारण गोहीहरू बगेर सीमापारि पुग्ने समस्या पनि रहेको छ। हरेक वर्ष नदीमा गोही छाडिए पनि अपेक्षित रूपमा यिनीहरूको संख्या वृद्धि हुन सकेको छैन।

धेरै टिप्पणी गरिएका