
काँक्रेविहार (सुर्खेत)। डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि झण्डै रु २५ करोड ९८ लाख बजेटमा स्तरोन्नति काम सुरु भएको छ। रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ त्रिवेणीबाट जुम्ला जोड्ने सडक निर्माण भइसकेको अवस्थामा अर्को मार्गबाट पनि जुम्ला जोड्ने काम सुरु गरिएको हो।
भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले जानकारी दिनुभयो कि त्रिपुराकोटदेखि मौरे लेकसम्मको सडक स्तरोन्नति भएपछि स्थानीयवासी र पर्यटक दुवैका लागि आवतजावत सहज हुनेछ। यस मार्गले रारा र फोक्सुन्डो ताललाई पनि सडकसँग जोड्नेछ।
मन्त्री बुढाका अनुसार कर्णालीका यी प्रमुख पर्यटकीय गन्तव्य सडकमार्गसँग जोडिएपछि दुवै जिल्लाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ र स्थानीयले पर्यटक लक्षित व्यवसाय गरेर आम्दानी गर्न सक्ने अवसर प्राप्त हुनेछ।
डोल्पास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख टेक हितानका अनुसार बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन भएको यो सडकखण्ड त्रिपुराकोट, छल, काइगाउँ, मौरेलेक, जुम्ला हुँदै मुगुको राराताल जोड्ने मार्गको रूपमा बनाइनेछ। सम्झौता गत असारमा भएको र कुल ६८ किलोमिटर लम्बाइको सडकमा नालासहितको ग्राभेल स्तरोन्नति कार्य सम्पन्न गरिने बताइएको छ।





































