
फुङ्लिङ (ताप्लेजुङ) । फक्ताङलुङ–६ अन्तर्गत घुन्सा र फलेटारमा परीक्षण स्वरूप रोपिएको स्याउ सफलतापूर्वक फल्न थालेको छ। स्थानीय किसान र संस्थाहरूले रोपेका ‘फुजी’ र ‘गोल्डेन डेलिसियस’ प्रजातिका बिरुवाले छ महिनामै फल दिँदा स्थानीय उत्साहित भएका छन्।
विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा आधार शिविर प्रवेशद्वार नजिक रोपिएका बिरुवाबाट उत्पादित स्याउको गुणस्तर स्वीट्जरल्याण्डका विशेषज्ञ टोलीले परीक्षण गर्दा सकारात्मक नतिजा देखिएको छ। घुन्सामा उत्पादन भएको स्याउमा फुजी १३ ब्रिक्स, गाला १३.५ ब्रिक्स र गोल्डेन १७ ब्रिक्स चिनी भएको मापन गरिएको छ। फलेटारमा फुजी १२, गाला १३.५ र गोल्डेन १५ ब्रिक्स चिनी भएको पाइयो।
मनाङ एग्रो फार्म, पुतली सहयोग योजना र स्थानीय समुदायको साझेदारीमा दिगो पर्यावरणीय कृषि प्रणाली अन्तर्गत दुई-दुई रोपनी क्षेत्रमा नमूना बगैँचा विस्तार गरिएको थियो। बगैँचामा जैविक विविधता कायम गर्न घार, मौरी र कुखुरापालन गरिएको छ, जसले परागणमा सहयोग पुर्याउने र माटो उर्वर बनाउने काम गरेको छ।
घुन्साका स्थानीय नुपुडुण्डुक शेर्पाले सफल परीक्षणपछि आफ्नो स्याउ बगैँचा विस्तार गर्ने योजना बनाइरहेका छन्। पुतली सहयोग आयोजनाका जिल्ला संयोजक दावाछिरिङ शेर्पाका अनुसार हिमाली भूभागमा स्याउखेतीको यो सफल प्रयासले ताप्लेजुङ मात्र नभई सम्पूर्ण पूर्वी हिमाली क्षेत्रका किसानका लागि व्यावसायिक स्याउखेतीको नयाँ सम्भावना उजागर गरेको छ।
स्वीट्जरल्याण्डबाट आएका विशेषज्ञ टोलीले स्याउखेती गर्न चाहने किसानको जग्गा नापजाँच समेत गरेका छन्। परियोजनाले उत्पादनसँगै अन्य कृषि उपजमार्फत किसानलाई आर्थिक रूपमा सशक्त बनाउने लक्ष्य राखेको छ।




































