जोडिनुहोस
  • होमपेज
  • अन्तर्राष्ट्रिय जहाजहरू देशभित्रका वैकल्पिक विमानस्थल प्रयोग नगर्दा डाइभर्ट हुने क्रम जारी

अन्तर्राष्ट्रिय जहाजहरू देशभित्रका वैकल्पिक विमानस्थल प्रयोग नगर्दा डाइभर्ट हुने क्रम जारी

काठमाडौँ। नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेको अवस्थामा नजिकका वैकल्पिक विमानस्थल प्रयोग नगरी देशबाहिर डाइभर्ट हुने क्रम रोकिएको छैन।

नेपालमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजले काठमाडौँ नपुग्दा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राख्नु पर्ने भए पनि अधिकांश जहाजले भारत वा अन्य देशको विमानस्थल रोज्दै आएका छन्। यसका कारण आधा घण्टा दूरीको विमानस्थलमा अवतरण गर्न सक्ने जहाजले एक घण्टा ४५ मिनेटसम्म उडान गरी देशबाहिर डाइभर्ट हुनुपर्ने अवस्था देखिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार विदेशबाट आउने जहाजले आफ्नो उडान तालिकामा प्रयोग गर्न सक्ने दुई वैकल्पिक विमानस्थल उल्लेख गर्ने गर्छन्। तर चालक दलले इन्धन, खाना, प्राविधिक सहयोग, ग्राउन्ड ह्यान्डलिङ र आपत्कालीन सेवाको सहजताअनुसार देशबाहिरको विमानस्थललाई प्राथमिकता दिने हुँदा भैरहवा वा पोखरामा अवतरण हुन सकेको छैन।

गत कात्तिक २२ गते दर्जनौँ उडान काठमाडौँको आकाशमा एक घण्टाभन्दा बढी समय फन्को लगाएर डाइभर्ट भएका थिए भने शुक्रवार काठमाडौँको आकाशमा १० मिनेट होल्ड गर्न नसकेर नेपाल वायुसेवा निगमको जहाज भारतको दिल्ली पुगेको घटना पनि यस विषयलाई पुष्टि गर्छ।

सरकारले भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षित गर्न यात्रु सेवा शुल्क, पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा शतप्रतिशत छुट र ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशतसम्म छुट दिएको छ। तर प्रविधिमा आधारित अवतरण प्रणाली नहुनु, भूउपग्रह प्रविधि (आरएनपी एआर) प्रयोगमा नआउनु, २४ सै घण्टा एयर ट्राफिक कन्ट्रोल, भन्सार र क्वारेन्टाइन सेवामा हवाई कम्पनी विश्वस्त नहुने कारण जहाजले अझै पनि देशभित्रको वैकल्पिक विमानस्थल प्रयोग नगरी डाइभर्ट भइरहेका छन्।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका